चितवन,
भाद्र २ ।
चितवनका राजनीतिक दल तथा स्थानीय प्रशासनले सञ्चारकर्मी शालिकराम पुडासैनीको आत्महत्या प्रकरणको छानबिन कार्यमा असर पुग्ने गतिविधि नगर्न सबैसँग आग्रह गरेका छन् । सो घटनाको छानबिनका क्रममा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवी लामिछानेको समर्थनमा प्रदर्शन भइरहेका बेला जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकले सहयोगका लागि सबैसँग अपिल गरेको हो ।
निमित्त प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको अध्यक्षतामा आइतबार भरतपुरमा बसेको सर्वदलीय बैठकले तीन बुँदे निर्णय गरी घटनाको छानबिन कार्यमा बाधा पुग्ने गतिविधि नगर्न आग्रह गरेको हो ।
यसैगरी चितवनस्थित नेपाल पत्रकार महासंघसहित विभिन्न मानवअधिकारवादी संघसंगठनहरुले घटनाको निश्पक्ष छानबिन गर्न माग गरेका छन् । विभिन्न ८ वटा मानवअधिकारवादी संस्थाहरुले आइतबार संयुक्त विज्ञप्ति प्रकाशित गरी अनुसन्धानमा कुनै पनि दबाब नदिई स्वतन्त्र र निष्पक्ष अनुसन्धानमा सहयोग पुर्याउन अपिल गरेका हुन् ।
सञ्चारकर्मी पुडासैनी गत साउन २० गते चितवनस्थित होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । मृतक पुडासैनीले आफूलाई आत्महत्या गर्न बाध्य पारेको भन्दै पत्रकार रवी लामिछानेसहित तीनजनालाई पोलेको भिडियो सार्वजनिक भएपछि प्रहरीले बिहीबार लामिछानेसहित तीनै जनालाई पक्राउ गरी चितवन लगेको छ ।






