जम्मू कश्मिर र लद्दाखमा नयाँ युगको सुरुवात – नरेन्द्र मोदी

काठमाडौंं,
साउन २४ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मू कश्मिर पुनर्गठनको सम्बन्धमा देशवासीका नाममा सम्बोधन गरेका छन् । मोदीले भारतीय संविधानको धारा ३७० लाई हटाउँदै जम्मू कश्मिरलाई विशेष राज्यको दर्जाबाट हटाउनुको कारणबारे स्पष्ट गर्न सम्बोधन गरेका हुन् ।

बिहिवार बेलुकी ८ बजे सम्बोधन गर्दै मोदीले जम्मू कश्मिरलाई केन्द्र शासित राज्यका रुपमा दुई भाग (जम्मू कश्मिर र लद्दाख) मा विभाजान गर्ने निर्णयका बारेमा आफ्नो विचार राखेका हुन्। उनले जम्मू कश्मिरको दुई प्रदेशको रुपमा विभाजनबाट हिमाली भेगमा रहेका दुवै स्थानमा विकास हुने र त्यहाँ स्थिरता र शान्ति स्थापना हुने दाबी गरे ।

मोदीले जम्मू कश्मिरलाई हाललाई मात्रै केन्द्र शासित प्रदेश बनाएको र समय अनुकल भएसँगै फेरि त्यसलाई पूर्ण राज्यको दर्जा दिने वाचा गर्दै भने, ‘देशले एकै परिवार भएर ऐतिहासिक निर्णय लिएको छ। जम्मू कश्मिर र लद्दाखका भाइ बहिनीहरु अधिकारबाट वञ्चित हुनुपरेको कानून हामीले हटाएका छौं । उनीहरुको विकासमा रहेको बाधा हामी सबैले मिलेर समाधान गरेका छौं।’

जम्मू कश्मिर र लद्दाखमा नयाँ युगको सुरुवात भएको भन्दै मोदीले अब देशका सबै नागरिकले सम्मान अधिकार पाउने बताए ।

केही दिन अघि मात्रै संविधानबाट हटाइएको धारा ३५० र ३५ ‘ए’ ले जम्मू कश्मिरलाई अलगावाद, परिवारवाद र भ्रष्टाचारबाहेक केही नदिएको भन्दै मोदीले पाकिस्तानले सो धारा भारतको विरुद्ध प्रयोग गरेको आरोप समेत लगाए । त्यसैले अब दुई प्रदेशका रुपमा जम्मू कश्मिर र लद्दाखको विकास सुनिश्चित भएको मोदीले दाबी गरे ।

कश्मिर एक समय बलिउड फिल्महरुको छायाँकनका लागि प्रसिद्ध रहेको भन्दै मोदीले भने, ‘यहाँ सुटिङ नहुने सायदै कुनै फिल्म थियो होला । कश्मिरमा फेरि शान्ति स्थापना भयो भने यहाँ देशका मात्रै होइन विश्वभरबाट मानिस आउँनेछन् । यहाँ सुटिङ हुने फिल्मबाट यहाँका नागरिकहरुले रोजगारी पाउनेछन् ।’ मोदीले बलिउड, तेलगु र तमिल फिल्म उद्योगलाई जम्मू कश्मिरमा लगानी गर्न समेत आग्रह गरे ।

भारतले गत सोमबार जम्मू कश्मिरलाई दिइएको विशेष दर्जा अन्त्य गर्दै केन्द्र शासित प्रदेश बनाउने घोषणा गरेको थियो । सो घोषणा हुनु केही दिन अघि देखि नै जम्मू कश्मिरमा हजारौंको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । हालसम्म पनि जम्मू कश्मिरका कतिपय स्थानमा कर्फ्यु लगाउनुका साथै मानिसहरुलाई हिँडडुल गर्न रोक लगाइएको छ ।
पाकिस्तानले त भारतको उक्त कदमको विरोध स्वरुप भारतसँगको व्यापारिक र कुटनीतिक सम्बन्ध नै तोड्ने घोषणा गरिसकेको छ ।

यसमा तपाइको मत

अन्य समाचार