संस्कृति, स्वराज्य र समाजवाद

समाजवाद उन्मुख राज्यव्यवस्था१को लिखित प्रावधान र प्रतिबद्धतासँगै अघि बढेको गणतन्त्र नेपालको राजनीति नेकपा बहुमत प्राप्त सरकारको गठनसँगै समाजवादको मार्ग चित्रले सफलता पाएको देखिन्छ । सोभियत सङ्घको विघटन तथा चीनमा पुँजीवादी अर्थतन्त्रको अभ्यासपश्चात् समाजवाद तथा साम्यवादको अभ्यासबारे चर्चा भइरहेका छन् । साथै, यसै वर्ष सन् २०१९मा भारतमा सम्पन्न निर्वाचनमा लामो समयसम्म प्रान्तमा सरकार सञ्चालन गरेका कम्युनिस्ट पार्टीहरु शून्यको अवस्थामा पुग्नुले नेपालको कम्युनिस्ट पार्टी र समाजवादी राजनीति कही उधो लाग्ने त होइन ? भनेर पनि विचार हुन थालेको छ । आवधिक निर्वाचन र बहुदलीय प्रतिस्पर्धा मार्फत प्रजातान्त्रिक अभ्यास गर्दै कम्युनिस्ट पार्टी र कम्युनिस्ट सरकार सधैँ सफल रहन सक्ला ? भनी समर्थकहरुले विचार गर्नु स्वभाविकै हो ।

  • केशवप्रसाद चौलागाईं

एकदलीय नियन्त्रणमुखी विचार अध्ययन र अभ्यास गर्दै बहुदलीय र खुला प्रतिस्पर्धालाई आत्मसात गर्दैै सत्ता सञ्चालन गर्नाले कस्तो समाज निर्माण होला ? अर्थात् विचार एकथरि र अभ्यास अर्कोथरि । यही विन्दुबाट बहसलाई अगाडि बढाउँदा संस्कृति निर्माणको प्रसङ्ग महत्वपूर्ण बनेर आउँछ । ‘सम’ उपसर्ग र ‘कृ’ धातु मिलेर बनेको ‘संस्कृति’ शब्दको अर्थ भूषणभूत सम्यक चेष्टा रहेको छ । जुन चेष्टाहरुद्वारा मनुष्य आफ्नो जीवनका समस्त क्षेत्रमा उन्नति गर्दैै सुख–शान्ति प्राप्त गर्दछन् । ती चेष्ठाहरु नै मनुष्यका लागि भूषणभूत सम्यक चेष्टा कहलिन्छन् । एवम्प्रकार मनुष्यको वैयक्तिक, सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक आदि सबै क्षेत्रमा लौकिक–पारलौकिक अभ्यूदयको अनुकूल देहेन्द्रीय, मन, बुद्धि, चित्ताङ्कारको चेष्टा नै उसको भूषणभूत सम्यक चेष्टा या संस्कृति हो । एवम्प्रकार मनुष्यको लौकिक–पारलौकिक सर्वाभ्यूदयको अनुकूल आचार–विचार नै संस्कृति हो ।२ आध्यात्मिक साँस्कृतिक प्रभावमा रहेका नेपाली जनताले आफ्नो दैनिक जीवनयापन गर्दै निर्माण गरेका र अभ्यास गरिरहेको संस्कृतिलाई आत्मसाथ गर्न नसक्दा समाजवाद अघि बढ्न सक्ला ? सर्वत्र छलफल भइरहेका विषय हुन् । हाम्रा संस्कृति के समाजवाद निर्माणको मार्गमा बाधक छन् ? द्वन्द्वात्मक भौतिकवादमा आधारित कम्युनिस्ट सिद्धान्तले वर्षदिनभरि नै तिथी–पर्वहरुको आधारमा मनाइने संस्कृतिहरुप्रति उदासिनता वा उपेक्षा गर्नाले जनताको मन जित्न सक्ला ? विविध प्रश्नहरु देखिन्छन् । बहुधार्मिक, बहुसाँस्कृतिक स्वरुपको नेपाल साँस्कृतिक पर्यटनको माध्यमले समृद्धि प्राप्त गर्न सक्ने कुरालाई कम्युनिस्ट सिद्धान्तकै कारणले उपेक्षित हुन पुग्दा समृद्धि र जनमत दुवै गुम्ने अवस्था छ  । खुला सङ्ग्रहालयको रुपमा रहेको ‘हाम्रो सम्पदा’ आज पनि विदेशी पर्यटकहरुका लागि आकर्षक केन्द्र बनी दैनिक अवलोकनको स्थल बन्न पुगेका छन् । समाज र राज्यलाई सबल, शान्त र समृद्ध बनाउन संस्कृतिले पु¥याइरहेको भूमिकालाई समाजवादको निर्माण गर्न उपयोगी बनाउन सकिने हुँदा त्यसतर्फ लेखनलाई केन्द्रित गर्नु आजको प्रयास हो । सर्वहारा अधिनायकत्व र एकदलीय तानाशाहीको ठाउँमा बहुदलीय प्रतिस्पर्धा र प्रजातान्त्रिक नियमका आधारमा समाजवादको स्थापना गर्ने कुराले त्यति नकारात्मक असर नपर्ने निश्चित छ । लोककल्याणकारी राज्यको रुपमा समाजवाद स्थापित हुने हुँदा समाजवादी संस्कृति निर्माणमा ध्यान दिँदा पुग्ने हुँदा त्यही प्रसङ्गलाई महत्वका साथ उठाउने प्रयास हो यो लेखन ।
‘न वै राज्यं न राजसिन्न न दण्डो न च दाण्डिकः । धर्म नै व प्रजा सर्वे रक्षन्तिस्म परम्परम ।’३ अर्थात् राज्य र राजा (शासक) जन्मनुभन्दा अगाडि, कानुन र कानुनको पालनकर्ता आउनुभन्दा अगाडि धर्मका आधारमा मनुष्यहरु आपसमा मिलेर रक्षा गर्दथे भन्ने भनाइले स्वयम् परिचालित रक्षित हुने परम्परा समाजवादी परम्परा हो । हामीले अर्थतन्त्रको इतिहास परम्पराको आधारमा हाम्रो समाजको व्याख्या र व्यवस्था गर्ने कुराले अन्योलता उत्पन्न गराउनुका साथै बाह्य विचार र व्यवस्थालाई लाद्न खोज्ने अराष्ट्रिय व्यवहार देखाउँदै छौ । हाम्रा आफ्ना अभ्यासलाई स्पष्टताका साथ विश्लेषण गरिएको उपरोक्त महाभारतको कथनलाई हृदङ्गमय गर्दा हाम्रो ज्ञान र अभ्यास कति उच्च र प्राचीन रहेछ भन्ने प्रमाणित हुन्छ । ‘यावत भ्रियेत जढरं तावत् स्वत्वं हि देहिनाम, अधिकं योभिमन्येत स स्तेनो दण्डर्महतिः ।’४ अर्थात् जति द्रव्य भोक मेटाउन आवश्यक पर्छ, त्यति प्राप्तिको मात्र अधिकार व्यक्तिलाई हुन्छ भन्ने वचनले साम्यवादको परिकल्पना गरेको पाइन्छ । व्यक्ति, समाज र राष्ट्रको न्यायोचित सञ्चालन र व्यवस्थापनबारे वैदिक साहित्य र प्रचलनहरु समाजवाद र साम्यवादको माक्र्सवादीय धारणाहरुभन्दा उच्च रहेका छन्  ।

राज्य सञ्चालनका सन्दर्भमा सैद्धान्तिक पक्षलाई स्पष्ट पार्दै गरिएको परिभाषा आजको दिनमा पनि गहन र महत्वपूर्ण देखिन्छन् । ‘आ यद् वामीयचक्ष्सा मित्र वयं च सुरयः । व्यचिष्ठे वहुपाय्ये यतेमही स्वराज्ये ।’५ अर्थात् विस्तृत र बहुमतद्वारा जसको पालन हुन्छ, त्यस्तो स्वराज्य शासनमा जनताको भलाइकालागि लागिरहौँ भन्ने भनाइले प्रजातन्त्र, राष्ट्रियता र समाजवाद र समावेशितालाई समेटेको देखिन्छ । यही परिभाषाअनुरुपको संस्कृति निर्माण गर्न हरेक शुभकार्यका बेला सामूहिक रुपमा र ज्ञान भएकाले दैनिक पुजनमा स्वस्तीवाचन गर्दै जागरण ल्याउने परम्परा आजसम्म पनि प्रचलित रहेको छ । ‘ॐ स्वस्तिः साम्रज्यं, भौज्य, स्वराज्यं, वैराज्यं, पारमेष्ठयं, राज्यं, महाराज्यमाधिपत्यम् समन्तपर्यायीस्थात्, सार्वभौमः सर्वायुषान्ताः न्ताद पराधात पृथ्वियै समुन्द्रपर्यान्ताया एकरादिति ।६ मन्त्रसहित स्वस्तीवाचन गर्ने परम्परा खोजको विषय हो । विभिन्न आठ प्रकारका राज्यव्यवस्थाको उच्चारण गर्दै संस्कृतिको निर्माण गर्ने अभियान स्मरणीय तथ्य हुन् । ‘सङ्गच्छध्वं सं वदध्वं सं वो मनांसि जानताम् । देवा भागं यथा पूर्वे सञ्जानाना उपासते ।’७ आपसमा मिलेर हिँड, आपसमा मिलेरै बोलचाल गर, मनको कुरा आपसमा मिलेर आदानप्रदान गर र नयाँ कुरा सिक । उहिलेका सज्जनले आपसमा मिलेर यज्ञ उपासना आदिका काम गरेभैmँ तिमीहरु पनि एकमत होऊ भन्ने विचार समाजवादको आधारशीला हो भन्दा कुनै अतिशयोक्ति नहोला । ‘समानी व आकूतीः समाना हृदयनि वः । समानमस्तु वो मनो यथा वः सुसहासित ।’८ तिमीहरुको हृदय एकै होस्, तिमीहरुको मन एकै होस्, सङ्कल्प एकै होस् । त्यसैबाट सङ्गठित भएर तिमीहरुले आ–आफ्नो सबै काम पूरा गर्न सक । एवम्प्रकार सामूहिक भावना र अभियानका लागि आह्वान, प्रार्थना गराइ समाजवादतर्फको मार्गचित्र हो । यस्तै उदात्त भावनाहरु मन्त्रका रुपमा समेत उपयोग हुनाले समाजवादी संस्कृतिको निर्माण समेत गर्ने प्रयास हुन् । उपरोक्त वैदिक भावना र मन्त्रको प्रभावपश्चात् तयार हुने नेतृत्वको योग्यता तथा भरोसा यस श्लोकबाट पनि प्रष्ट हुन्छ । ‘नत्वहं कामये राज्यं न स्वर्ग न पुनर्भवम् । कामये दुःख तप्तानां प्राणीनार्मतनाशनम् ।’ अर्थात् न त मलाई राज्यको लालसा छ न त स्वर्ग पुनर्जन्मको । सम्पूर्ण दुःखबाट प्राणीहरुले त्राण पाउन सकून् भन्ने एकमात्र कामना गर्दछु भन्ने विचारले नेता वा नेतृत्वको त्यागमुखी आचरण देखिन्छ । सुशासन, न्याय र प्रजातन्त्रको प्रतिकको रुपमा नेतृत्व स्थापित हुने हुँदा विश्वास र भरोसा उत्पन्न गराउँदछ  ।

आज हरेक मुलुकले आ-आफ्नो मोडल अनुरुपको परिभाषा समाजवादको गरिरहेकाले नेपालले पनि मौलिक परिभाषा र अभ्यास गर्दै अगाडि बढ्नु पर्दछ । अन्य देशको प्रसङ्ग र इतिहासको पृष्ठभूमिमा भन्दा आफ्नै मौलिक सिद्धान्त र अभ्यासका आधारमा समाजवादलाई अगाडि बढाउँदा ‘स्वराज्य र मेलमिलाप’९ कार्ययोजनालाई आधारका रुपमा लिन सकिन्छ । समाजवादलाई नास्तिक वा अधार्मिक सिद्धान्तका रुपमा बुझ्न र बुझाउन खोजनाले बाह्य संस्कृतिको हस्तक्षेप बढ्न गई समाजवादलाई नै चुनौती हुने निश्चित छ । धर्म र समाजवादलाई परस्पर विरोधीको रुपमा बुझ्नु वैदिक मौलिक समाजवादी परम्परालाई नबुझ्नु नै हो । वैदिक परिभाषामा धर्मलाई ईश्वर उपासनासँग नजोडी उसको गुण र कर्मसँग परिभाषित गरिएकोले विमति राख्नुपर्ने ठाउँ देखिन्न ।

‘धारणद्धिर्ममित्याहु धर्मो धारयते प्रजाः यत्स्थाद्धारणसंयुक्त सर्धमः इति निश्चय ।१० यस परिभाषाबाट व्यक्तिले धारण गर्ने गुण, स्वभावलाई धर्म मानेको छ न कि ईश्वरभक्ति । सनातन हिन्दू धर्म तथा बौद्ध धर्मको सिद्धान्त र अभ्यास समाजवादी संस्कृतिले प्रेरित छन् । समाजवादको स्रोतकै रुपमा वेदलाई लिन सकिने आधार र वर्तमानको द्वन्द्वको अवस्थाबाट शान्तिपूर्ण रुपान्तरणको अवस्थामा पुग्दै समृद्धि हासिल गर्न धार्मिक क्षेत्रले सहयोग पु¥याउने निम्न क्षेत्रहरु महत्वपूर्ण देखिन्छन्ः–

क) द्वन्द्वरुपान्तरण र शान्ति स्थापनामा धर्म तथा अध्यात्मिक क्षेत्रको भूमिका ।
ख) स्वराज्य र मेलमिलापः भावी नेपालको आधार ।
ग) खगोल र द्वन्द्व ।
घ) शान्ति, न्याय र मिलापका लागि अन्तर्सांस्कृतिक सहिष्णुता ।
ङ) जातीय छुवाछूत उन्मूलनमा धार्मिक क्षेत्रको भूमिका ।
च) न्यायिक समिति र स्थानीय सरकारः मेलमिलापको मार्ग चित्र ।
छ) संस्कृति, सम्पदा र मेलमिलाप ।
उपरोक्त क्षेत्र र विषयहरुमा धार्मिक क्षेत्रले महत्वपूर्ण सहयोग पु¥याउन सक्ने हुँदा समाजवाद निर्माणमा धार्मिक क्षेत्रको योगदान अग्रणी देखिन्छ ।

उत्तरतर्फ छिमेकी चीन र दक्षिणतर्फको भारतको बीचमा रहेको सानो मुलुक नेपालले भूराजनीतिक अवस्थाका कारण सन्तुलन बनाइराख्न वैदिक स्वराज्य र आर्यावर्तको अवधारणलाई अगाडि बढाउन धार्मिक क्षेत्रले मात्र सक्दछ । उत्तरतर्फको कम्युनिस्ट विचार र दक्षिणतर्फको प्रजातान्त्रिक विचारलाई सन्तुलन बनाउन मौलिक र भिन्न विचारका रुपमा वैदिक स्वराज्य र आर्यावर्त उपयोगी हुन्छ । कतैतर्फ वैचारिक रुपले ढल्कन नपर्ने गरी दुवैको विश्वास प्राप्त गर्न फरक सिद्धान्तको आवश्यकता पर्दछ । ‘आर्यावर्तः पुण्यभूमि मध्यविन्दु हिमालयो’११को अवधारणाले चीनले प्रस्तुत गरेको वन बेल्ट वन रोड इनिसियटिभ तथा अमेरिकाको इण्डोप्यासेफिक इनिसियटिभहरुसँग समान विचारका आधारमा सहकार्य गर्न सक्षम बनाउँदछ । संस्कृति, स्वराज्य र समाजवादको सम्मिश्रण र समन्वयनले संविधानले प्रस्तुत गरेको समाजवादी मार्गचित्रलाई सफल बनाउनेछ । नयाँ नेतृत्व र क्षेत्रको आभास गराउनेछ ।

सन्दर्भसामग्री
१) नेपालको संविधान-२०७२ ।
२) कल्याण हिन्दू संस्कृति अङ्क ।
३) महाभारत ।
४) श्रीमदभागवत ।
५) ऋगवेद ।
६) ऋगवेद ।
७) ऋगवेद ।
८) ऋगवेद ।
९) चौलागाईं, केशवप्रसाद, स्वराज्य मेलमिलाप ।
१०) चाणक्य ।
११) अमरकोष ।

मिलापको असार अङ्कबाट

यसमा तपाइको मत

अन्य समाचार