काठमाडौं,
असार २९ ।
संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले बाढी, पहिरो र डुबान पीडितहरुको उद्दार, राहत तथा उपचारको उचित व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिको आइतबार सिंहदरबारमा बसेको बैठकले बाढी, पहिरो र डुबान पीडितहरुको उद्दार, राहत र उपचारको उचित व्यवस्था गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।
बैठकले बाढी, पहिरो र डुबानबाट विस्थापित भएकाहरुको पुनर्बासको तत्काल व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराएको छ ।
त्यसैगरी वेपत्ता नागरिकहरुको खोजी कार्यलाई पनि तीव्रता दिन सरकारको ध्यानाकर्षण गराइएको पनि समितिले जनाएको छ । बैठकमा गृहमन्त्री रामबहादुर थापाले बाढी, पहिरो र डुबानमा परी ज्यान जानेहरुको सङ्ख्या हालसम्म भएको जनधनको क्षतिका विषयमा जानकारी गराएका थिए ।
३२ जना वेपत्ता भएको, २९ जना घाइते भएको र २ हजार ६३ जनालाई उद्दार गरिएको पनि गृह मन्त्रालयको आइतबार अपरान्हसम्मको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
गृहमन्त्री थापाले घाइतेहरुको स्थानीय अस्पतालहरुमा उपचारको व्यवस्था मिलाइएको बताएका छन् । तीन दिनयता आएको लगातारको वर्षाका कारण देशका ३८ वटा जिल्ला बाढी, पहिरो र डुबानबाट बढि प्रभावित भएको छ ।
-फाइल फोटो






