कथासङ्ग्रह ‘टाँकीका फूलहरू’माथि राजधानीमा अन्तरक्रिया

काठमाडौं,
असार २५ ।

कथासङ्ग्रह ‘टाँकीका फूलहरू’माथि राजधानीमा अन्तरक्रिया गरिएको छ । हङकङ प्रवासमा कार्यरत सङ्खुवासभाका साहित्यकार दाजु गुरुङद्वारा लिखित कथासङ्ग्रह ‘टाँकीका फूलहरू’माथि मंगलबार राजधानीमा अन्तरक्रिया गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रा.डा. गोविन्दराज भट्टराईले कथाकार गुरुङको कथासङ्ग्रह ‘टाँकीका फूलहरू’का कथाहरू एकै बसाईमा पढेर तृप्त हुने खालका रहेका बताए । उनले कथाको भाषा र शैलीले पाठकलाई मोहित तुल्याउने उल्लेख गर्दै हङकङेली नेपाली डायास्पोराबाट अहिलेसम्म यत्तिको सशक्त कथाकृति नआएको दावी गरे । उनले भने, ‘जसले यो कृति पढ्दैन, उसले धेरै कुरा छुटाउँछ ।’

साहित्यकार अनिल पौडेलले गुरुङको लेखनयात्राबारे चर्चा गर्दै कृतिमा हङकङेली नेपालीका सुख–दुःख, अनुभव र भोगाइ समेटिएको बताए । कथा सङ्ग्रहमाथि सशस्त्र प्रहरी वलका पूर्व आइजीपी दुर्जकुमार राई, प्राज्ञ नन्दु उप्रेती, कवि तथा कथाकार बिना थिङ, गंगाप्रसाद अधिकारी, साहित्यकार टिका चाम्लिङलगायतले समीक्षा गर्दै कथाका भाषा-शैली काव्यात्मक एवम् प्रस्तुति सरल तथा सरस भएको रहेको बताए ।

सङ्ग्रहमा आरम्भ, मेरो छिमेकी र रोक्सी, हराएको मान्छे, मोनिका, बिर्सिएको साँझ, मिलेनियम, ब्याज, मुन्ना चौधरी, सतासी मामा, सुनाखरी ओइलाएपछि, चोइ-साम, मङ्की हिल, मौइसी, सरी, मर्निङ वाल्क, बाटो बिराएको मान्छे गरी १७ वटा कथा समावेश छन् ।

कथामा उनले नेपालीले हङकङमा पुगेर त्यहाँको अत्याधुनिक समाजमा गरेको सङ्घर्ष र मानसिक उत्तारचढाव एवम् मनोविज्ञानलाई चित्रण गरेका छन् । सङग्रहलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । कार्यक्रम नेपाली वाङ्मय परिषद् र हङकङ साझा साहित्यिक शृङ्खलाद्वारा आयोजना गगरिएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार