काठमाडौं,
असार २० ।
नेपाल आइडलका गोल्डन माइक विजेता तथा दर्शकको मन जित्न सफल सुमित पाठकले आफ्नो पहिलो गीत ‘समाचार’ लिएर आएका छन् । नेपाल आइडलमा सहभागी भएपछि उनले गाएको पहिलो गीत हो ‘समाचार’ । कालीप्रसाद बास्कोटाको शब्द/सङ्गीत रहेको गीतको भिडियो बिहिबार सार्वजनिक गरिएको हो ।
गीतको भिडियोमा शिक्षा संग्रौला फिचर्ड छिन् भने साथमा सुमितको पनि उपस्थिति रहेको छ । भिडियोलाई लोकेश बज्राचार्यले निर्देशन गरेका हुन भने असीम शाह कृएटिभ डिरेक्टर हुन् । यसअघि सुमितले विभिन्न कभर गीतहरू गाइसकेका छन् जसबाट उनलाई दर्शकको धेरै माया मिलिरहेको छ ।
जी २१ डिजिटलको प्रस्तुति यस गीतसँगै सुमित एक वर्षको लागी यसै कम्पनीमा आबद्ध भएका छन् । जी २१ आफैमा एउटा स्थापित कम्पनी रहेको र आफूलाई राम्रो गाइडेन्स मिल्ने, यसबाट अझै राम्रो काम गर्न सहज हुने भएकाले आफू आबद्ध भएको सुमितले बताएका छन् । साथमा जी २१ ले पनि राम्रो कलाकारलाई बाहिर ल्याउन साथ दिनुपर्ने र आगामी दिनमा पनि यसै गरी साथ र सहयोग गर्ने लक्ष्यका साथ सुमितसँग सहकार्य गरेको जानकारी दिएको छ ।






