काठमाडौं,
असार १७ ।
चलचित्र विकास बोर्ड नेपालको १९ औं बार्षिकोत्सवममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । चलचित्र विकास बोर्ड नेपालले आफ्नो स्थापनाको १९ औं बार्षिकोत्सव सोमबार काठमाडौंमा रहेको बोर्डको आफ्नै भवनमा आयोजित कार्यक्रममा विभिन्न चलचित्रकर्मीलाई सम्मानित गरि मनाइँएको हो । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाको उपस्थितीमा बोर्डले बार्षिकोत्सव आयोजना गरेको थियो ।

कार्यक्रममा चलचित्र क्षेत्रको विभिन्न विधामा रहेर काम गरेका १९ जना विशिष्ट चलचित्रकर्मीहरुलाई सम्मान समेत गरिएको थियो । सम्मानित हुनेमा पहिलो नायिका भुवन चन्द, नायक भुवन केसी, नायक शिव श्रेष्ठ, निर्देशक लक्ष्मीनाथ शर्मा, निर्माता छविराज ओझा, सङ्गीतकार शम्भूजित बास्कोटा, नृत्य निर्देशक बसन्त श्रेष्ठ, द्वन्द्व निर्देशक राजेन्द्र खड्गी, छायाँकार मन्जुकुमार श्रेष्ठ, ध्वनी विज्ञ प्रदीपकुमार उपाध्याय, पोस्टर डिजाइनर सुन्दरलाल श्रेष्ठ, जापानी कलाकार दोशी आखी इतो (जापान), चलचित्र पत्रकार विजयरत्न तुलाधर, यस्तै, विज्ञापन एजेन्सी (आन)का पूर्व अध्यक्ष निर्मलराज पौडेल, प्रदर्शक मोहनलाल सराफ, उत्तम दोहा, राजकुमार पोखरेल, नकिम उद्दिनलाई सम्मानित गरिएको थियो । यस्तै, कामना पब्लिकेसनलाई पनि कार्यक्रममा सम्मानित गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘आईफा अवार्ड’ लाई १ अर्ब दिने कुरामा सत्यता नभएको बताएका । उनले अवार्ड आयोजना गर्ने स्वीकृति मात्र सरकारले दिएको बताए । आफूले अवार्डलाई पैसा दिने कुरा नबोलेको र मन्त्रीपरिषद्ले निर्णय पनि नगरेको उनले स्पष्ट पारे ।
मिडियालाई सत्यतथ्य समाचार प्रकाशन गर्न आग्रह गर्दै उनले अगाडि भने- ‘अवार्ड गर्नका लागि ‘आईफा’ टिमले सरकारसँग स्वीकृति मागेको थियो । मन्त्रीपरिषद्ले स्वीकृति दिएको मात्र हो । एक अर्ब दिने न मन्त्रीपरिषद्को बैठकले निर्णय गरेको छ न त मैले सुनेको नै छु । ‘आईफा अवार्ड’ का लागि एक रुपैयाँ पनि दिएका छैनौं ।’ अवार्ड भएको खण्डमा सरकारले व्यवस्थापनतर्फ सहयोग गर्ने उनको भनाई छ । पर्यटन प्रवद्र्धनमा विदेशी अवार्ड नेपालमा आयोजना हुनु सकारात्मक रहेको उनी बताउँछन् ।

कार्यक्रममा चलचित्र विकास बोर्डले आफ्नो कार्ययोजना प्रस्तुत गरेको थियो । बोर्डले यो बर्ष तीन करोड रुपैयाँ सरकारको सहयोग र १७ करोड आन्तरिक स्रोतबाट उठाउने बताएको छ । कार्यक्रममा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइले आफू चलचित्र क्षेत्रका विभिन्न संघसंस्थासँग मिलेर काम गर्न सधै नै तयार भएको बताए ।
कार्यक्रममा चलचित्र विकास बोर्डका पूर्व अध्यक्षहरु यादव खरेल, निर शाह, शम्भूजित बास्कोटा, राजकुमार राई, कृष्ण मल्ललगायत उपस्थित थिए । १९ औं वार्षिक उत्सवको अवसर पारेर चलचित्र विकास बोर्डले सेल्यूलाइड प्रविधिमा खिचिएका १० पुराना चलचित्रलाई डिजिटल प्रविधिमा ढालेको छ । जसमा ‘आमा, हिजो आज र भोली, जीवनरेखा, के घर के डेरा, सिन्दुर, परिवर्तन, मनको बाँध, कुमारी, बदलिदो आकाश, शान्तिदीप छन् । अन्य चलचित्रलाई पनि विस्तारै डिजिटल प्रविधिमा रुपान्तरण गर्ने बोर्डको योजना छ ।






