काठमाडौं,
असार ५ ।
गायन क्षेत्रका प्रतिभा खोज्ने रियालिटी शो ‘द भ्वाईस अफ नेपाल’को दोस्रो सिजन आउँदो केहि दिनमै सुरु हुने भएको छ । दोस्रो सिजन नाजिकैनै लाग्दा युनिटले राजधानीमा एक पत्रकार भेटघाटको आयोजना गर्दै दुइ नयाँ कोच सार्वजनिक गरिएको छ ।
दोस्रो सिजनमा दुइ नयाँ र दुइ पुराना कोच रहने आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ । द भ्वाईस अफ नेपालको पहिलो सिजनमा कोच बनेका पप गायक सनुप पौडेल र रक गायिका अभया सुब्बा (स्टिम इन्जिन) दोस्रो सिजनमा देखिने छैनन् । पहिलो सिजनका बाँकी दुई निर्णायक बरिष्ट गायक दीप श्रेष्ठ र गायक प्रमोद खरेल दोस्रो सिजनमा पनि रहेका छन् ।
यस अघिको कोच सनुप पौडेलको ठाउँमा मँगोलियन हार्टका गायक पप गायक राजु लामालाई अनुबन्धित गरिएको छ भने रक गायिका अभया सुब्बाको स्थानमा पप गायिका आस्था राउतलाई कोचको रुपमा अनुबन्धित गरिएको छ ।
पत्रकार भेटघाट कार्यक्रममा प्रायोजकसँग हस्ताक्षर पनि गरियो । आगामी साउनको पहिलो साताबाट भ्वाईस अफ नेपाल सिजन २ हिमालयन टेलिभिजनबाट प्रशारण हुँदैछ ।
दोस्रो सिजनमा द भ्वाईस अफ नेपाललाई टाइटल स्पोन्सरको रुपमा युनाईटेड सिमेन्टले साथ दिएको छ । साथै सहप्रायोजकको रुपमा एनआइसी एशिया बैङ्क र आइएनजी ग्रुप रहेका छन् । यसैगरी भोटिङ तथा पेमेन्ट पार्टनरको रुपमा प्रभु पे रहेको छ । कार्यक्रम निर्देशकको रुपमा अघिल्लो सिजना झैँ लक्षमण पौडेल रहेका छन् ।






