काठमाडौं,
जेठ २१ ।
ऐतिहासिक नेपाली चलचित्र ‘कीर्तिपुरः द लिजेन्ट अफ कीर्तिलक्ष्मी’ असार १३ देखि देशभरका सिनेमाघरमा आउने भएको छ । फोकस पिक्चर्सको ब्यानरमा पाँच वर्षअघि देखि नै निर्माण थालिएको यो चलचित्र लामो समयको प्रतिक्षापछि दर्शकमाझ आउन लागेको हो ।
‘ऐतिहासिक चलचित्र बनाउने वर्षौंको सपना अब साकार भयो । आफु कीर्तिपुरबासी भएकै नाताले पनि रहस्यको गर्बमा रहेको कीर्तिपुर आक्रमण घटनालाई चलचित्रकरण गर्न सफल भएकोमा उत्साही छु, चलचित्रका निर्देशक प्रदीप खड्गीको भनाइ छ ।
साहित्यकार बासु पासाद्वारा लिखित ‘भैरवसिंह’ नामक उपन्यासमा आधारित चलचित्र ‘कीर्तिपुर’मा विगत ८ वर्ष देखिको अध्ययन र सम्बन्धित व्यक्तित्वसँगको समन्वयमा निर्माण गरिएको चलचित्र हो । कला निर्देशक केके माननधरका अनुसार चलचित्रमा पुरानै जीवनशैली, भौतिक संरचना तथा परिवेश सन्तुलित गर्नको लागि निर्माण अवधि लामो हुन गएको हो ।
पछिल्लो समयमा उत्कृष्ट ऐतिहासिक चलचित्र निर्माण गर्न भिज्यूअल इफेक्ट अनिवार्य प्रायः छ । तत्कालिन अवस्थाको पुरानै शैली यो चलचित्रमा प्रस्तुत गर्ने काम विदेशी अङ्ग्रेजी चलचित्रमा आवद्ध भएर काम गर्दै आएका भीएफएक्स सुपरभाइजर सन्तोष केसीले गरेका छन् ।
चलचित्रको मूख्य भूमिकामा हिसिला महर्जन, यशराज गराच, मदनदास श्रेष्ठ, सुशिल राजोपाध्याय, लक्ष्मी गिरी, सूरवीर पण्डित आदि कलाकारहरु प्रस्तुत भएका छन् ।
चलचित्रमा विरेन्द्र ताम्राकार कार्यकारी निर्माता, प्रेम खड्गी तथा अनन्त श्रेष्ठ निर्माता हुन् । शंकर महर्जन र नविन जोशीले चलचित्रको छायाकन गरेका छन् ।
निर्देशक खड्गीकाअनुसार केही वर्षअघि नै प्रदर्शन हुने पर्ने यो चलचित्रलाई राजनीतिक अस्थिरताका कारण विगतमा गृह मन्त्रालयले प्रदर्शनको अनुमति दिएको थिएन ।
राजा पृथ्वीनारायण शाहको नेपाल एकिकरणका क्रममा भएका घटनाक्रमलाई प्रभावशाली ढङ्गले चित्रण गरिएको यो चलचित्रलाई अहिले आएर गृह मन्त्रालयले पनि प्रदर्शनको अनुमति दिएको निर्देशक खड्गी बताउँछन् । सेन्सर बोर्डले यो चलचित्रलाई यूनिभर्सल सर्टिफिकेट दिएको छ ।






