नुवाकोट
जेठ ६ ।
‘उज्यालो अन्धकार’ निबन्ध सङ्ग्रहमाथि सचेतन हल विदुरमा अन्तरसंवाद भएको छ । नुवाकोट साहित्य प्रतिष्ठानद्धारा आयोजित अन्तरसंवादमा टिप्पणीकारद्धय रामप्रसाद चालिसे र मुकुन्दराज अर्यालले सङ्ग्रहमाथि टिप्पणी गरेका थिए ।
टिप्पणीकार चालिसेले निबन्धमा आञ्चलिकता प्रयोग गरेर नेपाली सामाजिक परिवेशको स्पष्ट उल्लेख गरेकोमा निबन्धकारलाई बधाई दिए । उनले परदेशिएको पीडासँगै नेपालको वर्तमान परिवेश समेटिएकोमा गौरवसमेत गरे ।
टिप्पणीकार अर्यालले वर्तमान परिस्थिति कठपुतली बनेको व्यङ्ग्य निबन्धमा पाइएको उल्लेख गरे ।
यसैगरी अन्तरपार्टी महिला सञ्जालका पूर्व अध्यक्ष विन्दा अर्यालले निबन्ध क्षेत्रमा महिला लेखन औलामा गणिने मध्ये एक कुमारी लामा भएकी बताइन् ।
कार्यक्रमका प्रमुख अतिथि रामकृष्ण भट्टले लामाको लेखनले नुवाकोटका महिलाहरुलाई लेखनमा प्रेरित गर्ने बताए ।
त्रिशुली वाङ्मय प्रतिष्ठानका कोषाध्यक्ष एवम् कवि लक्ष्मी रुम्बाले निबन्धकारको बारेमा जानकारी गराएका थिइन् ।
प्रतिष्ठान संस्थापक अध्यक्ष एवम् साहित्यकार श्रीराम श्रेष्ठले फरकफरक विधाका साहित्यकारहरुलाई निम्त्याएर छलफल र सम्मान गर्दै आइरहेको जानकारी गराए ।
सोही क्रममा निबन्धकार लामालाई प्रतिष्ठानको आजिवन सदस्यता पनि प्रदान गरेको थियो । अतिथिहरु आह्वानका डा. अर्चना थापा, उमा सुवेदी, युवा व्यवसायी शम्भुकुमार लामालगायत रहेका थिए ।
कार्यक्रममा गोपालप्रसाद गजुरेल, भगवती खनाल र सन्तोषी केसीले आआफ्नो रचना प्रस्तुति गरेका थिए । निबन्धकार लामा छत्रेदेउराली धादिङका स्थायी बासिन्दा हुन् । उनीले लामो समयदेखि निबन्ध विधामा कलम चलाउनुका साथै पुस्तकहरुको समिक्षा समेत गर्दै आइरहेकी छिन् ।
२०६४ सालमा स्थापित प्रतिष्ठानले यसअघि नुवाकोट साहित्य महोत्सव, साहित्य पदयात्रा, स्रष्टा सम्मान एवम् पुरस्कार वितरण, साहित्यिक गोष्ठी, साहित्यिक विचार विमर्शलगायत कार्यक्रम गरिसकेका छन् । देवकी पौडेलद्धारा सञ्चालित अन्तरसंवाद प्रतिष्ठानको अध्यक्ष रामकृष्ण अमरको अध्यक्षतामा सम्पन्न भएको थियो ।






