काठमाडौं,
वैशाख २९ ।
बरिष्ठ गायक प्रेमध्वज प्रधान र बरिष्ठ सङ्गीतकार शम्भुजीत बास्कोटालाई ‘भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान-२०७५’अर्पण गरिएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ‘भक्तराज आचार्य सङ्गीत प्रतिष्ठान’ले बरिष्ठ गायक प्रेमध्वज र बरिष्ठ सङ्गीतकार शम्भुजीतलाई उक्त सम्मान अर्पण गरेको हो ।
भजन शिरोमणि भक्तराज आचार्यले बरिष्ठ गायक प्रधान र बरिष्ठ सङ्गीतकार बास्कोटालाई दोसल्ला ओडाएर ताम्रापत्र र नगदसहित सम्मान गर्नुभएको थियो । स्रष्टाद्वयले ‘भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान-२०७५’बाट सम्मानित हुनु पाएकोमा खुसी ब्यक्त गर्नुभएको थियो ।
सामाजिक र साङ्गीतिक कार्यहरुमा क्रियाशील रहेको भक्तराज आचार्य सङ्गीत प्रतिष्ठानले गायन र सङ्गीत क्षेत्रका स्रष्टाहरुलाई हरेक वर्ष सम्मान गर्दै जाने जानकारी गराएको छ । प्रतिष्ठानले यो वर्षको सम्मान कार्यक्रम सिटी एक्सप्रेस मनि ट्रान्सफरको मुख्य सहयोगमा आयोजना सम्पन्न गरेको हो ।
कार्यक्रममा गायक सत्यराज र स्वरुपराज आचार्यले पूराना गीतहरु प्रत्यक्ष प्रस्तुत गर्नुभएको थियो । गायक आचार्यले बरिष्ठ गायक प्रेमध्वज प्रधानको कालजयी गीत ‘पर लैजाउ फूलहरु…’ र आफ्नै बुबा भक्तराज आचार्यको चर्चित ‘हजार सपनाहरुको…’ बोलको गीत प्रस्तुत गर्नुभएको थियो । त्यस्तै गायक स्वरुपराज आचार्यले स्वरसम्राट नारायण गोपालको ‘पर्खी बसेँ…’गीत प्रस्तुत गर्नुभएको थियो ।






