काठमाडौं,
वैशाख २५ ।
औद्योगिक शान्ति नेपाल सस्थाले दुर्इ वटानै मृगौला खराव भएर पिडीत भई आर्थिक समस्याका कारण उपचार गर्न नसकिरहेका मृगौला पिडीत दीपकबहादुर धामी (दीपेन्द्र)लाई रु १ लाख २० हजार सहयोग गरेको छ ।
‘नयाँ बर्ष नयाँ सोच, युवाहरुको लागि छ प्रगतिको स्रोत’ भन्ने मूल नाराका साथ नेपाली नयाँ बर्षको पूर्व सन्ध्यावाट भक्तपुरमा पाँचौ भक्तपुर औद्योगिक सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७५/०७६ चैत २१ गते देखि वैशाख ४ गतेसम्म भक्तपुरको सल्लाघारीमा सम्पन्न भएको थियो ।
भक्तपुरमा आयोजना भएको व्यापार मेलाबाट प्राप्त मुनाफाबाट सामाजिक सेवा गर्ने उद्देश्यले मृगौला पिडीतलाई सहयोग गरेको औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतले जानकारी गराए । संस्थाले एक कार्यक्रमको आयोजनागरी धामीलाई संस्थाका अध्यक्ष महत, मध्यपुर व्याइज व्याण्डका अध्यक्ष सुनिल बज्राचार्य र मेला आयोजक समितिका संयोजक दीपक थापाले सहयोग रकम हस्तान्तरण गरेका थिए ।
बझाङ जिल्ला दुर्गाथली गाउँपालिका–६ का २५ बर्षिय धामीको २०७३ फागुनमा दुवै मृगौला फेल भई सहिद धर्मभक्त राष्ट्रिय अङ्ग प्रत्यारोपण केन्द्रमा डाइलासिस गराइराखेका छन् ।
मृगौलाको डाइलासिस, औषधी र अन्य उपचारमा हालसम्म ३० लाख भन्दा बढि खर्च भइसकेकोले मृगौला प्रत्यारोपण गर्न आर्थिक अभाव रहेको पीडित धामीले बताए । सरकारले प्रदान गर्ने २ लाख बराबरको उपचार सहयोग पनि सकिसकेको गाउँको जग्गा बिक्री गरेको र अझै १२-१३ लाख रुपैयाँ ऋण रहेकाले उपचार गर्न समस्या रहेको धामीको भनाई छ ।
श्रीमती सरितादेवी धामीले श्रीमान्का लागि मृगौला दिन तयार भएको भएपनि प्रत्यारोपण गर्न १३-१४ लाखभन्दा बढी रकम खर्च हुने र आफुसँग उक्त रकम अभाव भएकाले हालसम्म मृगौला प्रत्यारोपण गर्न नसकेको पिडीत धामीको भनाई छ । सबैबाट यसैगरी सहयोग सङ्कलन भए आफ्नो मृगौलाको सफल प्रत्यारोपण हुनेमा उनी विश्वस्त छन् ।






