काठमाडौं,
वैशाख २४ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन गरिएको छ । गृह मन्त्रालयमा सोमबार बसेको बैठकले आगामी जेठ १५ गते गणतन्त्र दिवस मनाउने सिलसिलामा जेठ १४ देखि १६ गतेसम्म विविध कार्यक्रम गरी देशभित्र र देशबाहिर नेपाली नियोगमा दिवस मनाउने निर्णय गरेको छ ।
प्रधानमन्त्रीको अध्यक्षतामा गठित समितिमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, पूर्वराष्ट्रपति, मन्त्री, पूर्व प्रधानमन्त्रीलगायत रहेका छन् । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको संयोजकत्वमा काठमाडौँ, ललितपुर, भक्तपुरका जिल्ला समन्वय समितिका प्रमुख, सञ्चार मन्त्रालयका सचिव, राष्ट्रिय समाचार समितिका महाप्रबन्धक, नेपाल टेलिभिजन र गोरखापत्र संस्थानका अध्यक्ष, रेडियो नेपालका कार्यकारी निर्देशकलगायत रहेको प्रचारप्रसार उपसमिति गठन गरिएको छ ।






