काठमाडौं,
वैशाख ५ ।
नेपालकोे पहिलो पटक आफ्नै भूउपग्रह प्रक्षेपण भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले खुशी व्यक्त गरेका छन् । शुक्रबार विहान सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै प्रधानमन्त्री ओलीले नेपाल अन्तरिक्ष युगमा प्रवेश गरेको बताए । उनले स्याटालाइट निर्माणदेखि लिएर प्रक्षेपणको कार्यसम्म संलग्न सबै बैज्ञानिकहरुलाई बधाई समेत दिएका छन् ।
अमेरिकी अन्तरिक्ष निकाय नासाका अनुसार बिहीबार बिहान २ः३५ बजे भर्जिनिया राज्यको तटस्थित प्रक्षेपण केन्द्रबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) मा प्रक्षेपण गरिएको हो ।
१० सेन्टिमिटर लामो, १० सेन्टिमिटर चौडा र १० सेन्टिमिटर अग्लो भूउपग्रह मानिसका हातमा अटाउँछ । यो १ किलो ३३० ग्रामको छ । इएसएसका लागि कार्गो लिएर जाने एन्टारेस रकेटमा नानो स्याटलाइट ‘नेपाली स्याट वान’ प्रक्षेपण गरिएको हो ।
नेपालसँगै श्रीलंकाको ‘रावण वान’ र जापानको युगुइसीमा नानो भूउपग्रह पनि अन्तरिक्षमा प्रक्षेपण गरिएका छन् । भूउपग्रह प्रक्षेपण नासाको टेलिभिजन र वेबपेजबाट प्रत्यक्ष प्रसारण गरिएको थियो । आज प्रक्षेपण गरिएको भूउग्रह अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस) मा करिब डेढ महिना राखेपछि अन्तरिक्षमा छडिनेछ ।’
नेपाली भूउपग्रह पृथ्वीका सतहभन्दा चार सय किलोमिटरमाथि अन्तरिक्षमा रहनेछ । प्रत्येक ९० मिनेटमा पृथ्वीका एक चक्कर चलाउने यसले दैनिक १६ पटक पृथ्वीको परिक्रमा गर्नेछ । त्योमध्ये दैनिक चार पटक नेपालको आकाशमा आइपुग्नेछ ।
जापान, नेपाल र श्रीलङ्काको भूउपग्रह अमेरिकाबाट एकैसाथ प्रक्षेपण गरिएको छ । नेपाली भूउपग्रहको नाम ‘नेपाली क्यूबसेट स्याट–१’, श्रीलङ्काको ‘रावण–१’ र जापानको ‘यु–बिसु’ राखिएको छ ।
भूउपग्रहले देशका विभिन्न स्थानका तस्वीर सङ्कलन तथा अभिलेखीकरण गर्नाका साथै यहाँको हिमाल, पहाड, तराई वन, पाखा, हिमनदीका बारेमा सूचना र जानकारी प्रवाह गर्नेछ ।






