काठमाडौं,
चैत्र १४ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले तीव्र गतिमा बहुआयामिक विकास गर्नुको कुनै विकल्प नभएको बताएका छन् । आर्थिक उन्नतिका लागि लामो समय पर्खन नसकिने स्पष्ट पार्दै उनले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को राष्ट्रिय आकाङ्क्षा प्राप्त गर्न तीव्र गतिमा बहुआयामिक विकास गर्नुको कुनै विकल्प नभएको बताएका हुन । वर्तमान सरकार राजनीतिक अधिकार प्राप्तिका प्रयासलाई संस्थागत गरेर सुशासन र विकासमा केन्द्रीत भएको बताएका छन् ।
उद्योग वाणिज्य महासङ्घद्वारा आयोजित आठौँ अन्तर्राष्ट्रिय व्यापार मेला, २०१९’ को बिहीबार उद्घाटन गर्दै उनले शान्ति सुव्यवस्था, सुशासनमार्फत विकासका गतिलाई तीव्रताका साथ अघि बढाइने बताए ।
नेपाल विकासका लागि प्रचुर सम्भावनायुक्त मुलुक भएको स्पष्ट पार्दै प्रधानमन्त्रीले भने, ‘नेपाल प्राकृतिक स्रोत र खनिजले युक्त छ, अत्यन्त उर्वर भूमि र प्रकृति छ, विकासका लागि क्रियाशील युवा जनशक्ति छ, उपलब्ध स्रोत साधन र क्षमताको प्रयोगबाटै मुलुकको विकास गरिन्छ ।’
उनले ‘सुखी नेपाली र समृद्ध नेपाल’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न आन्तरिक पूँजी र प्रविधिको न्यूनता खड्किएकाले विदेशी पूँजी र प्रविधिको प्रयोग गरेर नेपालको विकासमा सरकार अघि बढेको बताए ।






