काठमाडौं,
फाल्गुन १२ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले रचना गरेको गीतिसङ्ग्रह ‘मेरो प्यारो नेपाल’ सार्वजनिक भएको छ । राजधानीको हिमालचुली कल्चरल सेन्टरमा शनिबार आयोजित कार्यक्रममा गीति सङ्ग्रह ‘मेरो प्यारो नेपाल’ सार्वजनिक गरिएको हो ।
शीर्ष गीत ‘जहाँ म जन्मे जहाँ हुर्की बढें, त्यहि माटो पानी मेरो भूस्वर्ग’ बोलको गीत विभिन्न सात भाषामा रेकर्डिङ भएको छ । सातै भाषाका गीतको शनिबार नै विमोचन भएको छ ।
सङ्गीतकार शम्भुजीत बाँस्कोटाको सङ्गीत रहेको गीतकार कमल थापाको गीतिसङ्ग्रहमा नेपाली भाषामा गायक राजसागर, नेवारी भाषामा अमला महर्जन, मैथिलीमा मेचु धिमाल, भोजपुरीमा हरिशंकर चौधरी, लिम्बू भाषामा खगेन्द्र याक्सो, तामाङ भाषामा टीका बम्जन र थारु भाषामा हरिशंकर चौधरीको गायन रहेको छ ।
गीतिसङ्ग्रह सार्वजनिक कार्यक्रममा बोल्दै गीतकार कमल थापाले विभिन्न सातवटा भाषामा गीतिसङ्ग्रह सार्वजनिक हुन सकेकोमा खुसी व्यक्त गरे । ‘यसबाट साङ्गीतिक क्षेत्रमा सानो रुपमै भएपनि योगदान पुग्न सके मलाई सन्तोष मिल्छ’, अध्यक्ष थापाले भने ।

उनले नेपाली गीत सङ्गीतको समग्र विकासका लागि आफू सदैव चिन्तित रहेको उल्लेख बताए । राष्ट्रिय प्रजातान्त्रिक सांस्कृतिक संगठनले आयोजना गरेको कार्यक्रममा गीतकार भुवन पाठक, भक्ति सिटौला र राजेश गिरीको एल्बम लोकार्पण भएको छ ।
कार्यक्रमम गीतकार संघ नेपालका अध्यक्ष चुडामणि देवकोटा, चलचित्रउद्यमी उद्धव पौडेल, साहित्यकार डा.बमबहादुर थापा ‘जिताली’ले गीतकार कमल थापालाई राजनीतिमा भन्दा माथिल्लो उचाइमा गीतकारको रुपमा पाएको भन्दै बधाई एवम् शुभकामना दिएका थिए ।
राष्ट्रिय प्रजातान्त्रिक सांस्कृतिक मञ्चको आयोजनामा भएको उक्त कार्यक्रममा साहित्यकार डा।बमबहादुर थापा ‘जिताली’लाई नगद राशि रु. १५ हजार १५ रुपैया सहित ‘राष्ट्रिय सांस्कृतिक सम्मान’ले सम्मानित गरिएको थियो । सम्मानको राशि गीतकार अमर वान्तुले प्रदान गरेका थिए । कार्यक्रम मञ्चका अध्यक्ष गायक राज सागरको अध्यक्षतामा सम्पन्न भएको थियो ।






