काठमाडौं,
माघ २३ ।
नेपाली समाज नागानो केन जापान परिवारले करेन्ट लागेर दुबै हात खुट्टा गुमाएका बुद्धिमान कुँवरको सहयोगार्थ १ लाख १६ हजार ९ सय ७० रुपैयाँ सहयोग गरेको छ ।
नागानो केन जापान परिवारले जापानमा रोजगारीको शिलशिलामा गएका नेपालीहरुबाट सङ्कलित उक्त रकम बुद्धिमानलाई मङ्गलबार हस्तान्तरण गरिएको हो । संस्थाका संरक्षक पम खत्री, संस्थापक अध्यक्ष नन्दराज रेग्मी, संरक्षक सल्लाहकार रुद्र प्रसाद सिलवालको सक्रियतामा सङ्कलित रकम मेरी बास्सैका कलाकारहरुले बुद्धिमानलाई हस्तान्तरण गरेका छन् ।
मेरी बास्सैका कालकार लेखान्त भसाल ‘घिरौले’ र दिवाकर भण्डारी ‘सापटी काका’ को हातबाट बुद्धिमानलाई उक्त रकम प्रदान गरिएको हो । उनको सहयोगका लागि सापटी काका र घिरौलेले नेपाली समाज नागानो केन जापानसँग सहयोगका लागि लबिङ गरेका थिए ।
उक्त सहयोग रकम प्राप्त भएपछि बुद्धिमान र उनकी पत्नी पनि खुशी भएका थिए । उनीहरुले उपचारका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिनुका साथै अझै सहयोगको आशा राखेको बताएका छन् ।
बुद्धिमानको सहयोगका लागि हालसम्म करिब १५ लाख रुपैयाँ रकम सङ्कलन भइसकेको सहयोग समितिका भुपेन्द्र बस्नेतले बताएका छन् ।
दुई ओटा हात र एक खुट्टा हाल्नका लागि १ करोड बढी रकम लाग्ने बस्नेतले बताए । रोजगारीको शिलशिलामा भारत गएका बाँकेका बुद्धिमानको करेन्ट लागेर दुई हात र एक खुट्टा गुमेको थियो । आर्थिक अवस्था कमजोर भएका कारण हाल उनी सहयोगको अपिल गर्दै काठमाडौँ आएका छन् ।






