‘दाल भात तरकारी’को ‘भिजिट भिसामा’ (भिडियोसहित)

काठमाडौं,
माघ १२ ।

चलचित्र ‘दाल भात तरकारी’को गीत ‘भिजिट भिसामा’ सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमकाबीच निर्माण टिमले निशान भट्टराई र अञ्जु पन्तको स्वर रहेको ‘भिजिट भिसामा’ बोलको गीत सार्वजनिक गरेको हो ।

हरिवंश आचार्यको शब्द र शम्भुजीत बाँस्कोटाको सङ्गीत रहेको गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । गीतमा चलचित्रका मुख्य कलाकार हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का, आँचल शर्मा, बर्षा राउत र राजाराम पौडेलको अभिनय रहेको छ ।

कलाकार हरिवंशले चलचित्रको भाव सुहाउँदो गीत रहेको बताए । बैशाख १३ गतेबाट प्रदर्शनमा आउन लागेको ‘दाल भात तरकारी’ मा अझै दुई गीत छन् । चलचित्रलाई कलाकार किरण केसीका छोरा सुदन केसीले निर्देशन गरेका हुन् ।

मह सञ्चारको ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता किरण केसी हुन् । चलचित्रले हरेक मानिसले दाल भात तरकारी खानका लागि गर्ने संघर्षको कथा भन्छ । चलचित्रको कथा हरिवंश आचार्यले लेखेका हुन् । पटकथा तथा संवाद पनि उनकै हो । चलचित्रमा हरिवंश र निरुताको जोडी बाँधिएको छ ।

विल्सन विक्रम राई, राजाराम पौडेल, यमन श्रेष्ठ, शिवहरी पौडेल, किरण केसीलगायतका कलाकारहरुको पनि चलचित्रमा अभिनय रहेको छ । गीत सार्वजनिक कार्यक्रममा बोल्दै प्रस्तुतकर्ता केसीले चलचित्र राम्रो बनाउन कुनै कुरामा कञ्जुस्याइ नगरेको बताए । उनी गीतजस्तै चलचित्र पनि राम्रो बनेको बताउँछन् ।

मित्र डी. गुरुङको सम्पादन रहेको चलचित्रलाई दीर्घ गुरुङले खिचेका हुन् । ‘दाल भात तरकारी’ मा प्रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंशाकार, शिवहरी पौडेललगायत निर्मातामा रहेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार