कृषि मन्त्रीसँग ‘गोपी’ टिम

काठमाडौं,
पौष २६ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले चलचित्र ‘गोपी’को टिम सँग भेट्दै चलचित्रप्रति आफ्नो ऐक्यवद्धता जनाएको भोलिपल्ट कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले ‘गोपी’का कलाकार तथा निर्माता निर्देशकसँग भेट गरेर चलचित्रप्रति ऐक्वद्धता जनाएका छन् । दर्जनौं गीत तथा नाटकका कलाकार चक्रपाणि खनालले आफू पनि कला पारखी भएको बताउँदै चलचित्रले सान्दर्भिक विषय उठाएको भन्दै चलचित्र निर्माण टिमलाई सफलताको शुभकामना दिएका थिए ।

‘म नेपाली चलचित्रको नियमित दर्शक हुँ । हलमा बारम्बार जान नभ्याए पनि युट्युबमा पनि नेपाली चलचित्र हेर्ने गर्छु । धेरै चलचित्रमा कलाकारको अभिनय यथार्थपरक नभएको पाएको छु,‘उनले भने, ‘तर गोपीमा विषय र कलाकार दुवैको अभिनय उत्कृष्ट रहेको अनुमान गरें । यस्ता चलचित्र ज्यादाभन्दा ज्यादा बन्नुपर्छ भन्ने मेरो मान्यता छ ।’ उनले मन्त्रालयले बनाउनु पर्ने विषयमा ‘गोपी’ बनेकाले मन्त्रालय चलचित्रसँग सहकार्य गर्न तयार रहेको पनि बताए । ‘नीति नियम के छन् त्यो हेरेर तपाईंहरुलाई खबर गरुँला । तर, चलचित्रप्रति मन्त्रालय सकारात्मक भएको जानकारी गराउँछु,’ मन्त्री खनालले भने ।

निर्देशक दीपेन्द्र लामाले चलचित्रले श्रमको सम्मानमा जोड दिएको बताए । ‘कृषिमा भविष्य छैन भनेर लाखौं युवा विदेशमा गएर त्यही काम गरिरहनु भएको छ । त्यतिको मेहनत यही गर्ने हो भने यहाँ पनि कम आम्दानी छैन है भन्ने सन्देश चलचित्रले दिन खोजेको छ’, लामाले भने, ‘चलचित्र हेर्दा पशुपालन गरिरहेका लाखौं मानिसले आफ्नै कथा हेरेको महसुस गर्नुहुन्छ ।’

कृषि मन्त्रीको निमन्त्रणमा चलचित्रको गोपीको तर्फबाट कलाकारहरू बिपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, लेखक सामीप्यराज तिमल्सेना र कार्यकारी निर्माता श्रीधर पौडेल सहभागी थिए ।

अभिनेत्री सुरक्षा पन्तले मौलिक चलचित्रमा सरकारको चासो गाढा हुनु पर्ने कुरामा जोड दिएकी थिइन् भने अभिनेता बिपिन कार्कीले ‘गोपी’ जस्ता मौलिक फिल्ममा सरकारको सहयोगले थुपै्र मौलिक चलचित्र बन्ने वातावरण सिर्जना हुने कुरामा जोड दिएका थिए ।

प्रकाश घिमिरे, भोला सापकोटा, अंकित खड्का आदि कलाकारको अभिनय रहेको यो चलचित्र माघ १८ देखि देशभरका सिनेमाघरमा आउँदै छ ।

यसमा तपाइको मत

अन्य समाचार