काठमाडौं,
पौष १३ ।
चलचित्र निर्माता संघले विहिवार काठमाडौंमा निर्माता तथा पत्रकारहरुसँग भेटघाट गर्दै आफ्नो कार्यविधी प्रस्तुत गरेको छ । चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले आफ्नो चीनको भ्रमणको बारेमा जानकारी दिएका थिए ।
नेपाल चलचित्र निर्माता संघलाई ‘द फेडरेशन अफ मोसन पिक्चर प्रड्यूसर्स इन एसिया’मा सदस्यता मिलेको छ । निर्माता संघका अध्यक्ष आकाश अधिकारी चीनमा भएको फेडरेशनको कार्यक्रममा सहभागी भएका थिए । २४ देश समावेश कार्यक्रममा नेपाली चलचित्रलाई चीनमा प्रदर्शन गर्न प्रस्ताव राखेको आकाशले जानकारी दिए ।
उनले त्यहाँ चलचित्र किनबेचबारे विभिन्न देशहरुबीच छलफल गरेको बताए । भने, ‘मैले त्यहाँ नेपाली चलचित्र प्रदर्शन गर्नका लागि कुरा गरेको छु । अब मिटिङमा जाँदा पाँच नेपाली चलचित्र लिएर जानेछु । चलचित्रको ३-५ मिनेटको प्रमोसनल एड र सिनोप्सिस ती २४ राष्ट्रका प्रतिनिधिबीच देखाइनेछ । उनीहरुको भाषामा हामीले उल्था गरेर जानकारी दिनुपर्छ ।’ प्रदर्शनमा उनीहरुले मन पराएको चलचित्र उनीहरुको देशमा प्रदर्शनमा जाने उनले बताए ।
संस्थाको १७ जनाको बोर्ड कमिटीमा पाँच वर्षका लागि आकाश पनि कार्यकारी सदस्य बनेका छन् । कोटा सिस्टममा चलचित्र सार्वजनिक हुने चीनमा वर्षमा दुईवटा नेपाली चलचित्र पनि प्रदर्शन गर्नुका लागि आकाशले पहल गरेका छन् । निर्माता संघ अब चलचित्रको अन्तर्राष्ट्रिय व्यापारमा पनि अघि बढ्ने भएको हो ।
उनले वर्मा र सिक्किममा नेपाली चलचित्र प्रदर्शनको प्रस्ताव अघि बढाएको जानकारी दिए । उनले भने, ‘अहिले हामी नेपाली चलचित्रका लागि अन्तर्राष्ट्रिय बजार खोज्न अघि बढेका हौं ।’
यस्तै, निर्माता संघले आयोजना गरेको कार्यक्रममा काठमाडौंमा अब पोष्टर टाँस्न नपाइने जानकारी पनि दिइएको छ । चलचित्रका बरिष्ठ उपाध्यक्ष केशव भट्टराइले भने-‘महानगरपालिकाले हामीलाई बोलाएर यो बिषयमा जानकारी दिएको छ । अब, काठमाडौं महानगरपालिका भित्र पोष्टर टाँस्न पाइदैन । हामीले, नयाँ विकल्पको बिषयमा छलफल गरिरहेका छौ ।’
साथै, निर्माता संघले चलचित्र क्षेत्रलाई उद्योग बनाउन भएको पहल, सेन्सर बोर्डको शैली परिवर्तनका लागि गरिएको पहलको बिषयमा जानकारी गराएको छ ।






