काठमाडौं,
मंसिर २६ ।
गीतकार बुद्धवीर लामा ‘लाइफटाइम अचिभमेन्ट अवार्ड (दीर्घ साधना)’बाट सम्मानित हुने भएका छन् । अमेरिकामा आयोजना हुने ‘थड नेपाली फिल्म, म्युजिक एण्ड सोसल अवार्ड २०१८’ मा उनलाई सो सम्मान प्रदान गर्न लागिएको हो ।
संयुक्त राज्य अमेरिकामा बसोबास गर्ने नेपालीहरुको संस्था ‘लभ एण्ड सपोट फाउण्डेसन’ले २२ डिसेम्भर २०१८ (पुस ७ गते)मा आयोजना गर्न लागेको कार्यक्रममा लामालाई गीत सङ्गीत तर्फको ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’सम्मान दिइन लागिएको हो ।
कार्यक्रममा चलचित्र तर्फको ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ भने पुराना निर्देशक बन्नी प्रधानलाई प्रदान गरिनेछ । बन्नीले तिलहरी, देउकीलगायतका चलचित्र निर्देशन गरेका छन् ।
प्रधानलाई चलचित्र क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै र लामालालाई गीत सङ्गीतमा पुर्याएको योगदानको कदर गर्दै सम्मान दिन लागिएको आयोजकले जनाएको छ ।
अमेरिकामा रहेका अधिकाम्स कलाकार तथा प्राबिधिकको सहभागीता रहने कार्यक्रममा नायक, नायिका, गीतकार, पत्रकारलगायत २५ जना सम्मानित हुने आयोजक संस्था लभ एण्ड सपोट फाउण्डेसनका अध्यक्ष मनोज राइले जानकारी गराए । कार्यक्रमका लागि नेपालबाट कलाकार निर्देशक दिनेस डिसी र गीतकार लामा सहभागी हुँदैछन् ।
करिब पाँच हजार बढी दर्शकको उपस्थिती रहने बताइएको कार्यक्रममा आफुलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ले सम्मान दिन लागेकोमा निकै खुसी लागेको गीतकार लामाले बताए । सम्मान आफ्ना लागि मात्र नभएर सम्पुर्ण गीत सङ्गीत क्षेत्रकै लागि भएको उनको भनाई रहेको छ ।
नेपाली सङ्गीतिक क्षेत्रमा लामाले भुपु मायालु, छो रौल्पा ताल, समयले कोल्टे फेर्दालगायत ३ सय भन्दा बढी चर्चित मानिन्छ । तीन गीति पुस्तक समेत सार्वजनिक गरेका लामाले केही समय पहिले राजधानीको राष्ट्रिय नाचघरमा आठौ एकल साँझ सम्पन्न गरेका थिए ।






