काठमाडौं,
मंसिर २३ ।
मिस वर्ल्ड २०१८ को उपाधि मेक्सिकोकी सुन्दरी भेनेषा पोन्स डी लिओनले जितेकी छिन् । उनले टप पाँचमा थाइल्याण्ड, बेलारुस, युगाण्डा र जमैकाका सुन्दरीलाई पछि पार्दै ६८ औं मिस वर्ल्डको ताज पहिरिएकी हुन् । मिस वर्ल्ड भेनेषा पेशाले मोडेल हुन् ।
चीनको सान्यामा आयोजित विशेष समारोहमा मिस वर्ल्ड २०१७ मानुषी चिल्लरले मेक्सीकोकी सुन्दरी भेनेषालाई ताज पहिराइन् । त्यस्तै, फर्स्ट रनअप थाइल्याण्डकी सुन्दरी हुन सफल भएकी छिन् । नेपालबाट श्रृंखला खतिवडाले प्रतिनिधित्व गर्दै मिस मल्टिमिडिया र ब्यूटि वीथ पर्पोजको उपाधि जितिन ।

मिस नेपाल श्रृंखला खतिवडा मिस वर्ल्डको यात्रा शीर्ष १२ मा नै टुंगियो । चीनको सान्यामा भएको मिस वर्ल्डको फाइनलमा टप १२ मा पुग्न सफल भए पनि उनले इन्टर कन्टिनेन्टल उपाधि जित्न नसकेपछि उनको यात्रा यतिमै सिमित बनेको हो ।
मिस नेपाल श्रृंखलासँगै एसिया ओसियानिया क्षेत्रबाट मिस न्युजिल्याण्ड र मिस थाइल्याण्ड पनि शीर्ष १२ मा पुगेका थिए ।
तीन सुन्दरी मध्ये मिस थाइल्याण्डले मिस वर्ल्ड एसिया–ओसियानाको उपाधि जित्दै शीर्ष पाँचमा आफ्नो स्थान बनाइन् ।






