‘गरुड पुराण’को ‘म त पिरिममा’को कभर भिडियो निर्माण गर्नेले ५० हजार जित्न सक्ने

काठमाडौं,
मंसिर २२ ।

चलचित्र ‘गरुड पुराण’ ले आफ्नो गीत ‘म त पिरिममा’ गाउने दर्शकका लागि उपहार योजना ल्याएको छ । गीतको कभर भिडियो निर्माण गर्नेले ५० हजार नगद जित्न सक्ने योजना निर्माण युनिटले सार्वजनिक गरेको छ । केही पहिले सार्वजनिक यो गीतको बढ्दो लोकप्रियतालाई ख्याल गर्दै यो उपहार योजना ल्याइएको हो ।

गीतमा कभर भिडियो निर्माण गर्ने मध्यबाट उत्कृष्ट एकले नगद रु ५० हजारका साथै एउटा म्युजिक भिडियो र फोटोसेसनको अवसर पनि राखिएको निर्देशक सुवास कोइरालाले बताए । गीतको लोकप्रियतालाई देखेर कभर भिडियो घोषणा गरेका छौं’ उनले भने ‘गीतको बारेमा प्राप्त फिडब्याकमा अधिकाँश सकारात्मक छन् ।’

दिनेश राउतको शब्द रहेको गीतमा कोसिस क्षेत्रीको सङ्गीत छ । कोसिस र मनिषा पोखरेलले स्वर दिएको गीतमा रेनाशा वान्तवा राईले कोरियोग्राफी छ । निश्चल बस्नेत, कर्मा, प्रियंकासिंह ठकुरी र अन्जली योन्जनको नृत्य गीतमा छ ।

भिडियोहरु मदानी क्रिएसनको युट्युब च्यानलमार्फत अपलोड गरिनेछ । यसलाई भ्युजको आधारमा उत्कृष्टता घोषणा गरिनेछ । माघ ४ मा रिलिज हुने यो चलचित्रमा नजिर हुसेन, कामेश्वर चौरसिया, प्रविन खतिवडा, प्रकाश घिमिरे, रश्मी भट्टलगायतको अभिनय रहेको छ ।

आकाश बराल, विनोद खतिवडा र सुवास आफैँले लेखेको यो चलचित्रको कथा कसम नेपालको हो । निर्माताको रुपमा अजित प्रजापति र अशोक गौतम रहेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार