काठमाडौं,
मंसिर ५ ।
चलचित्र ‘गोपी’को पहिलो गीत ‘लक्ष्मी कहिले काली…’ सार्वजनिक भएको छ । साहित्यकार बुद्धिसागरको शब्द रचना रहेको गीतलाई अर्जुन पोखरेलले आफ्ना पिता बाबुराम पोखरेलसँग मिलेर कम्पोज गरेका हुन् । भजन शैलीको गीत भएकोले अर्जुनले भजनगायक पिताको सहयोग लिएका हुन् ।
बजारमा चलिरहेका भन्दा फरक गीत बनेकोले दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया पाउनेमा सङ्गीतकार पोखरेल आशावादी छन् । ‘लोकगीतको लहर चलेको छ, यस्तो बेला मौलिक गीत तयार पार्न पक्कै सजिलो छैन, तर यो गीत भाका, शब्द र वाद्यवादनका हिसाबले परिपक्व बनेको छ’, पोखरेलले भने । गीतलाई ध्रुव बिस्को र एन्जिला रेग्मीले गाएका छन् भने एरेन्जमेन्ट आशीष अविरलको छ ।
आरोही इन्टरटेनमेन्टका लागि आरोही केसीद्वारा निर्मित तथा दीपेन्द्र लामाद्वारा निर्देशित गोपी माघ १८ गते देखि देशभरका सिनेमाघरमा आउँदै छ । चलचित्रको कथाकै माग अनुसार गीत तयार पारिएको निर्देशक लामा बताउँछन् । ‘चलचित्रका मुख्य पात्र हिन्द्र र गाई पाल्ने भएकाले गीतमा उक्त आस्था झल्काउने प्रयास गरेका छौं’, उनले भने ।
https://www.youtube.com/watch?v=bdMWpnRcCkA
सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार विपिन कार्की, वर्षा राउत, अंकित खड्का, भोला सापकोटालगायतले नृत्य गरेका छन् । वरिष्ठ नृत्यनिर्देशक गोविन्द राईले यही गीतमार्फत् लामो समयपछि औपचारिक रूपमा कोरियोग्राफीमा कमब्याक गरेका छन् । गीतमा राईले तीनवटा भजनटोली, सयजना भन्दा बढी वृद्धवृद्धा र ३२ जना नृत्य कलाकारलाई समावेश गरेका छन् ।
सामिप्य तिमल्सेनाको लेखकन र श्रीधर पौडेल कार्यकारी निर्माता रहेको चलचित्रमा शैलेन्द्र डी कार्कीले छायांकन र निमेष श्रेष्ठले सम्पादनको जिम्मेवारी सम्हालेका छन् । चलचित्रमा सुरक्षा पन्त, प्रकाश घिमिरे, रमेश अधिकारी, सरोज अर्याल, कमलमणि नेपाल, हिउँबाला गौतमलगायतको पनि अभिनय हेर्न पाइनेछ ।






