काठमाडौं,
कार्तिक ३० ।
चलचित्र सयकडा दशको पहिलो गीत ‘दाईलाई कुरा लाइदिनी’ सार्वजनिक भएको छ । भ्रष्टाचारविरुद्ध सदाचार सन्देश बोकेको चलचित्र ‘सयकडा दश’ले पहिलो गीत ‘दाईलाई कुरा लाइदिनी…’ सार्वजनिक भएको हो ।
‘दाईलाई कुरा लाइदिनी, सात्तो खाइदिनी…’ बोलको गीतलाई कल्याण सिंहले कम्पोज गरेका हुन् । तृषला गुरुङ र सन्देश पाठकले गायनमा सहकार्य गरेका छन् । चलचित्रका निर्देशक रामशरण पाठकले नै यो गीतलाई लखेका हुन् ।
गीतमा अमृत ढुंगाना, करुणा श्रेष्ठ, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, रवि डंगोल फिचर्ड छन् । मुख्य पात्रको वैवाहिक समारोहलाई चित्रण गरिएको गीतलाई पोखरा माटेपानीस्थित भद्रकाली मन्दिरमा छायांकन गरिएको हो ।
भ्रष्टाचारले प्रेम, परिवार र समाजमा पारेको प्रभावको कथा चलचित्रले पेश गर्छ । मनोज गजुरेल र राजाराम पौडेल समेत मुख्य भूमिकामा छन् । कमेडियन समेत रहेका गजुरेलको यो डेब्यु फिचर हो । गजुरेललाई गत महिना अस्कर अवार्डको अफिसियल च्यानल एबीसीले विश्वका उत्कृष्ट २० कमेडियनमध्य छानेको छ ।
दर्शन नेपाल क्रिएसन प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्रलाई रज्जु प्रधान र उत्तम खत्रीले निर्माण गरेका हुन् । साजन थापा सहनिर्माता हुन् । निर्माताले च्यारिटीसहित सामाजिक कार्यमार्फत पनि चलचित्रको प्रवद्र्धन गर्ने प्रचार संयोजक सुदीप पौडेलले बताए ।
नेपाल प्रदर्शनपूर्व थाइल्यान्ड र म्यानमारमा चलचित्र प्रदर्शन गर्ने तयारीमा निर्माता जुटेका छन् भने निर्मात्री प्रधान नेपाली चलचित्रको बजार अध्ययनका लागि युरोप भ्रमणमा छिन् । चलचित्र माघ १८ गतेदेखि देशभरका सिनेमा घरमा आउँदैछ ।






