काठमाडौं,
कार्तिक १३ ।
प्रहलाद तिमिल्सिना आफ्नो स्वरमा रेकर्ड भएका आधुनिक शैलीका गीतहरुको दोस्रो एकल एल्बम ‘महक–२’ सार्वजनिक भएको छ । सोमबार काठमाडौंमा आयोजिन एक साङ्गीतिक समारोहमा गृहमन्त्री राम बहादुर थापा ‘बादल’, सङ्गीतकार शम्भूजीत बासकोटा, आलोकश्री, गीतकारहरु राजेन्द्र थापा, डा.कृष्णहरी बराल तथा एसपी कोइरालाले संयुक्त रुपमा उक्त एल्बम लोकार्पण गरेका हुन् ।
विमोचित ‘महक-२’ एल्बममा १० वटा गीत समावेश छन् । एल्बमका गीतहरुमा वरिष्ठ सङ्गीतकार शम्भूजीत बासकोटा, सुरेश अधिकारी, आलोकश्री, न्ह्यू बज्राचार्य, महेश खड्का, वसन्त सापकोटा, विकास चौधरी तथा आशिष अविरलद्वारा सङ्गीतबद्ध गीतहरु समावेश गरिएका छन् ।
यी गीतहरु डा.कृष्णहरी बराल, जीवन लुईंटेल, राजेन्द्र थापा, वसन्त सापकोटा, एसपी कोइराला तथा निश्चल श्रेष्ठले रचना गरेका हुन् । जीवन लुईटेलले एल्बका तीन वटा गीत रचना गरेका छन् भने राजेन्द्र थापाले पनि तीन वटै गीत रचना गरेका छन् । एल्बममा तिमीलाई नभेटुँ की, हिउँ सरी, ढकमक्क गुँरास, वचन दियौ धड्कनले, थोत्रो रेडियो, भनि देउ न कस्तो लाग्छ, सञ्चै छु भनी, पिरतीको खेल, इल्ली बिल्ली तथा पैले भनेको माया बोलका गीतहरु सुन्न सकिन्छ । गुञ्जन ईन्टरटेन्मेन्टले यो एल्बमलाई उत्पादन तथा बजार व्यवस्थापन गरेको छ ।
विमोचन समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले गायक तिमिल्सिनाको गायकीको प्रसंसा गर्दै साङ्गीतिक क्षेत्रमा पाइरेसीमा समस्या भए गृह मन्त्रालय त्यसलाई समाधान गर्न तत्पर रहेको धारणा व्यक्त गरे । ‘सङ्गीतमा भएको सर्जकहरुको लगानी सुरक्षित हुनु पर्छ, मन्त्री थापाको भनाइ थियो-‘पाइरेसी गरेर सर्जकको सम्पत्ति चोर्ने जस्ता प्रवृत्ति देखा परे गृह मन्त्रालयलाई त्यसलाई समाधान गर्न सधैं तयार हुनेछ ।’
विमोचित एल्बमको समिक्षा गर्दै सङ्गीतकार शान्तिराम राईले महक-२ मा समावेश अधिकांश गीतहरु कर्णप्रिय रहेको बताए । ‘स्थापित सङ्गीतकार तथा सिद्धहस्त गीतकारका शब्दमा गायक प्रहलाद तिमिल्सिनाको स्वर सुहाएको छ, सङ्गीतकार राईको भनाइ थियो ।
चलचित्रको पाश्र्व गायनमा सक्रिय रहेकै कारण आफूले दोस्रो एकल एल्बम तयार पार्न समय लागेको गायक तिमिल्सिनाको भनाइ थियो । पहिलो एल्बमका अधिकांश गीतहरु लोकप्रिय भएपछि नेपाली चलचित्रको पाश्र्व गायनमा व्यस्त भएका गायक तिमिल्सिनाले यो अवधिमा एक सय वटा भन्दा बढि चलचित्रका गीतहरुमा आफ्नो स्वर प्रदान गरिसकेका छन् ।
नेपाल अधिकांश सङ्गीतकारहरुको सङ्गतिमा गीत गाइसकेका यी गायकले लोकप्रिय गायिकाहरुसँग समेत पाश्र्व गायन गरिसकेका छन् । गायक तिमिल्सिनाले गाएका चलचित्रका गीतहरु मध्ये गाला रातै गाला रातै, फिगर कोकाकोला, बट स्लोली स्लोली, कहिले माया स्याड फेस, पिरो पिरो, झ्याप्पैलगायतका गीत लोकप्रिय छन् ।
समारोहमा गायक तिमिल्सिनाले एल्बमका दुई गीत प्रस्तक्ष सुनाएका थिए भने तीन वटा गीतका म्युजिक भिडियो प्रिमियर गरिएको थियो । यी मध्ये थोत्रो रेडियो…शीर्षकको गीत यूट्युबमा समेत आएको छ ।
https://youtu.be/oVmL4fA_hTA






