जीवन-मुस्कानको ‘प्रारम्भ’ लोकार्पण

काठमाडौं,
आश्विन २२ ।

गीतकार जीवन मुकारुङ र गायक मुस्कान मुकारुङको गीति एल्बम ‘मुस्कान’ लोकार्पण गरिएको छ । नेपाली वाङ्मय परिषद् र सेवा इन्टरटेन्टमेन्टद्वारा आइतबार राजधानीमा आयोजित समारोहमा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति एवम् वरिष्ठ कवि बैरागी काइँला, वरिष्ठ गायिका कुन्ति मोक्तान, गीतकार संघ नेपालका अध्यक्ष तथा वरिष्ठ गीतकार चुडामणि देवकोटा, वरिष्ठ संगीतकार बुलु मुकारुङ, कवि शशी लुमुम्बू र संस्कृतिविज्ञ डा. भक्त राई लगायतले उक्त एल्बमको लोकार्पण गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि काइँलाले गीतसङ्गीतले मानिसलाई खुसी रहन सहयोग पुर्याउने बताउँदै ‘प्रारम्भ’भित्रका गीतहरूको प्रशंसा गरे । उनले भने, ‘यी गीतहरू सुन्दर छन् र यिनले मानिसको आयु बढाउन सहयोग गर्छन् ।’ कार्यक्रममा वक्ताहरूले गीतकारका गीत र गायकका गायकीका सम्बन्धमा बोल्दै समकालीन नेपाली गीतिक्षेत्रमा ‘प्रारम्भ’भित्रका गीतहरू उल्लेख्य उपलब्धि हुने बताए ।

जीवनको एकल शब्दरचना र मुस्कानको स्वर रहेको छ । ‘चियाबारीमा’, ‘रोधी घरको गौँथलीले’, ‘दौरासरी फाट्यो जीवन’, ‘हिमालजस्तो तिम्रो माया’ र ‘हिँड्दाहिँड्दै’ बोलका पाँच वटा गीत रहेको उक्त गीति एल्बम ‘प्रारम्भ’ संगीतकारहरु वसन्त मुकारुङ, पारस मुकारुङ, भीषण मुकारुङ, सुमन राई, कमल रसाइलीले सङ्गीत दिएका छन् ।

गीतकार जीवन मुकारुङ लामो समय सिंगापुर पुलिसको जागिर पश्चात अवकाश लिएर भर्खरै आएका हुन् । हाल उनी गीत लेखनका साथसाथै म्युजिक भिडियो निर्देशनमा लागिपरेका छन् । गायक मुस्कान मुकारुङ भने सेवा रेकर्डिङ स्टुडियोमा रेकर्डिष्टका रुपमा कार्यरत छन् । उक्त गीति एल्बमकी निर्माता सुजा मुकारुङ रहेकी छन् । कार्यक्रममा गायक अशोक मुकारुङको ‘चैतेदशैँ’ र मुस्कानको ‘चियाबारीमा’ बोलका गीतमाथि बनाइएको म्युजिक भिडियो प्रदर्शन गरिएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार