सोह्रश्राद्धका अन्तर्वस्तु

असोजका कृष्णपक्षका सोह्रवटा दिनलाई हामी सोह्रश्राद्ध भन्छौं । आफ्ना दिवङ्गत आमाबाबुहरुको सम्झनास्वरुप आफ्ना पितृ दिवङ्गत भएको दिनको तिथि पारेर अत्यन्त श्रद्धाका साथ श्राद्ध गरिन्छ । श्रद्धापूर्वक गरिने पूजा भएकाले यसलाई ‘श्राद्ध’ भनिएको हो । ‘श्रद्धया क्रियते यत्र तच्छ«द्धं प्रकृर्तितम् ।’

  • ज्यो. पं. भरतमणि मरासिनी

पितृहरुको प्रशन्नताले आयू, धनसम्पत्ति, विद्या, वैभवता तथा गुणवान्, नैतिकवान् र आचारवान् सन्ततिहरु भई सुख–शान्ति हुन्छ भन्ने कुराको वर्णन शास्त्रहरुमा पाइन्छ । श्राद्ध गर्दा झुट, छलकपट, भ्रष्टाचार, अनैतिकतापूर्वक कमाइएको धन वा वस्तुले गर्नु हुँदैन, शुद्धात्माले अत्यन्त परिश्रमपूर्वक कमाइएको वस्तुले अति प्रशन्न भएर गर्नु आवश्यक छ । श्राद्धमा ब्राह्मणको पनि ठूलो महिमा हुन्छ । भनिन्छ, पितृहरु ब्राह्मणको रुप लिएर आफ्नो घरमा आएका हुन्छन् । उनीहरुको आदरसत्कार र सम्मान नै श्राद्ध हो । श्राद्धमा ब्राह्मणहरुको चयन अत्यन्त सावधानीपूर्वक गर्नुपर्छ । श्राद्धका लागि आएका ब्राह्मण अत्यन्त महिमामय र श्रद्धामय हुने भएकाले ब्राह्मण राम्रोसित धर्म बुझेको, सत्धर्मपरायण, झुटो नबोल्ने, छलकपट नगर्ने, साँझ-बिहान सन्ध्या गर्ने, शिखासुत्र भएको, मासु नखाने, वैदिक संस्कृत राम्रोसित जानेको विद्वान् हुनु अतिआवश्यक छ । मासु खाने ब्राह्मण पुज्नुभन्दा श्राद्ध नै नगर्नु बेस हुन्छ । वाक्यमिच्छन्ति पितरः भनिएको हुँदा श्राद्धमा वचन मिलाउनु अति आवश्यक हुन्छ । यस अर्थमा राम्रोसित व्याकरण नपढेको मानिसले कहिल्यै पनि शुद्धसित श्राद्ध गराउन सक्दैनन् । श्राद्ध कर्ता, ब्राह्मण र वस्तु शुद्धमन्त्र, श्राद्धसमय र विधि यी सबै कुराको समन्वित रुप हो श्राद्ध । अतः यी कुराहरुका साथ शुद्ध, सात्विक भई अत्यन्त श्रद्धा र भक्तिभावपूर्ण भई गरिएको श्राद्ध मात्र पितृले पाउँछन् ।

पिण्ड भनेको के हो ?
पिण्ड भनेको जुनसुकै गोलो वस्तु हो । पिण्ड पाँच तत्वहरु मिलेर बनेको हुन्छ । ती पाँच तत्वहरु हुन्– पृथ्वी, जल, तेज, वायु र आकाश । यो ब्रह्माण्ड पनि पिण्डजस्तै छ र यिनै तत्व मिली बनेको छ । शास्त्रमा करोडौँ ब्रह्माण्डहरु छन् भनिएको छ र यो सत्य पनि हो ।

यससम्बन्धी अर्को लेखमा विस्तृत जानकारी गराउँछु । यी ब्रह्माण्ड पनि गोला भएकाले र यिनै तत्व मिली बनेकाले यिनीलाई पनि पिण्ड भन्दछन् र हामी बसेको हाम्रो पृथ्वी पनि पिण्ड हो । यो पनि यिनै पञ्चतत्व पृथ्वी, जल, तेज, वायु र आकाशले बनेको छ । यसमा अरु भाग कम छ र पृथ्वीको भाग बढी छ । वेदान्तको पञ्चीकरणको सिद्धान्तअनुसार यी पृथ्वी, जल, तेज र आकाशमा प्रत्येकका पाँचवटै तत्वहरु कम–बेसी भइरहन्छन् । जस्तै– जल अर्थात् पानी । पानीमा आकाश पनि छ किनभने शून्यबिना रहन सक्दैन । पानीमा तेज अथवा प्रकाश पनि छ किनभने शून्यबिना रहन सक्दैन । पानीमा तेज अथवा प्रकाश पनि छ तर अदृश्य छ, जुन विद्युत्बाट देख्न सक्छौँ । हावामा पानी छ, जुन आधुनिक विज्ञानबाटै प्रमाणित छ । पृथ्वीतत्व पनि छ र यी कुनै कम मात्रमा छन् र कुनै बढी मात्रामा छन् तर जलतत्व भने अधिक छ । यसरी जल बनेको छ भने अरु पनि यसैगरी बनेका छन् । अब हाम्रो शरीर पनि पिण्ड हो र यसमा पनि पाँचवटै तत्वहरु मिलेर यो हाम्रो सुन्दर शरीर निर्माण भएको छ । यी पाँचवटा तत्वहरु मिलेर बनेको हुनाले यसलाई पञ्चभौतिक शरीर भनिन्छ र यो पृथ्वीकै अन्नरस आदि खाएर बनेको हुनाले यसमा पृथ्वीको अंश बढी छ । अतः यसलाई पार्थिव शरीर भनिन्छ ।

आध्यात्म विज्ञानअनुसार, यो कुनै पनि सजीव प्राणी वा कुनै वस्तुमा रहने जुन चेतनशील सत्ता छ, त्यो हो आत्मा । त्यही आत्मा ईश्वर हो र ईश्वर यी पाँच कुराबाट अलग छ, असम्पृक्त छ र त्यो सम्पूर्ण ब्राह्मण्डमा जीव र वस्तुहरुमा अदृश्यरुपमा व्याप्त छ । पृथ्वीमा रहेका गन्धत्व र त्यसलगायतका अरु शक्ति, जलमा रहेको शितत्व र आंशिकरुपमा रहेका अरु शक्ति, तेजमा रहेको प्रकाश र त्यसमा रहेका अरु शक्ति, वायुमा रहेको स्पर्शत्व र अन्य शक्ति र आकाशमा रहेको शब्दत्व, त्यसमा रहेका अन्य शक्तिका परिचालक र स्रोत वा जुन सत्ता छ त्यसै सत्तालाई हामी ईश्वर अर्थात् चराचर जीवनजगतमा शासन गर्ने व्यापक रही तिनलाई परिचालन गर्ने र सर्वत्र अदृश्यरुपमा रहने शक्ति नै ईश्वर हो । हामी सजीवहरुमा चेतना सत्ताका रुपमा रहेका उनै ईश्वरको अंशलाई हामी आत्म भन्छौं । आधुनिक–भौतिक विज्ञानको गतिचाहिँ केवल पृथ्वी, जल, तेज, वायु र आकाशका शक्तिलाई त्यो पनि अत्याधिक कम मात्रमा बुझ्ने प्रयास गरेको छ । त्योभन्दा माथि यो जान सकेको छैन । अब माथि बताइएअनुसार यो शरीर पृथ्वी, जल, तेज, वायु र आकाशले बनेको पिण्ड हो र यसमा आकाशको भाग अत्यन्त कम छ । प्रत्येक नाक, कान, मुख आदिमा रहेको शून्य भाग आकाशको हो । यो एक भागमात्र छ भने दुई भाग वायु छ । वायु पनि प्राण, अपान, समान, व्यान, उदान, नाग, कृकल धनञ्जय आदि दस छन् । यसमा प्राणवायु मुख्य छ । यो निस्किएर जानासाथ शरीर शून्यावस्थामा जान्छ । अन्य वायुले शरीरलाई नियन्त्रण गरेको छ र शरीर चल्छ । हाम्रो शरीरमा तीन भाग जति तेज छ, यसले हाम्रो शरीरलाई परिचालन गरेको छ । तेजको अधिष्ठात्रीदेव सूर्य हुन् र चराचर जीवजगतका शक्तिका स्रोत पनि उनै हुन् । तेजबिना शरीर चल्न सक्दैन । हाम्रो शरीरमा चार गुणा पानी छ । पानीले हाम्रो शरीरलाई परिचालन गरेको छ । अब हाम्रो शरीरमा सबैभन्दा बढी भनेको पृथ्वीतत्व छ किनभने हामी यस धरामा छौं र यसैमा भएका चिजहरु खाएर यो शरीर बनेको छ । तसर्थ, यसमा माटोको भाग धेरै छ । यी पाँचवटा तत्वले बनेको यो पिण्डलाई खासरुपमा परिचालक भई काम गर्ने आत्मको रुपमा रहेकालाई परमात्माको अंश जीवात्मा भन्दछौं । यो जीवमा रहेको आत्म न जन्मन्छ न त मर्दछ, यो त अजर र अमर छ, शास्वत छ । परब्रह्म परमात्माको अंश जीवात्म हो अंश अंशीसित मिल्न जान्छ । उनी यस शरीरमा रहेका सबै तत्वका परिचालक आत्मा हो । आत्माबिना कुनै पनि तत्वले आफ्नो केही पनि काम गर्न सक्दैन । आत्मालाई अनुसन्धान गर्ने, चिन्ने केवल अध्यात्मविद्या हो, भौतिक ज्ञानले चिन्न सकिँदैन । यदि सकिन्थ्यो भने मान्छेको आत्मा गइसकेपछि भौतिक शरीरमा पृथ्वी आदि सबै तत्वहरु त मौजुद हुन्छन् ।

भौतिक शरीरलाई त केही भएको छैन किन चल्न–डगमगाउन सक्दैन त ? भौतिकवादीहरु किन त्यसलाई परिचालन गर्न सक्दैनन् त ? यस भौतिक संरचनाबाट ऊ निस्किएर गइसकेको छ र हामीले यो गइसकेपछि सतत् प्रयास गरे पनि केही गर्न सक्दैनौं । यस शरीरबाट गइसकेपछि सशरीर भई यस धराधाममा गरेका पुण्यपाप आदि क्रियाकलापका आधारमा यो जीव अर्को कुनै पनि जीवमा जान सक्छ र राम्रो कार्य गरेको रहेछ भने त्यो आत्मा पितृलोक हुँदै परब्रह्म परमात्माको लोकमा क्रमिकरुपमा मुक्ति पाउँछ भने अझ राम्रो कर्म गरेको भए म भगवान्को अंश आत्मा हुँ, म शरीर होइन, मेरो ईश्वरीय स्वरुप हो भनी तत्व बुझेको खण्डमा ऊ सीधै परब्रह्म परमात्माको लोकमा पुग्छ । अन्यथा, आफ्नो कर्मअनुरुप देवता, दैत्य, मान्छे, कीरा–फट्याङ्ग्रा आदि बन्छ र आफ्नो कर्मजन्य फल भोग्दछ । यसबाट के बुझियो भने शरीर पनि एउटा पिण्ड हो । श्राद्धमा दिइने पिण्ड यसै कुराको प्रतीक हो । श्राद्धमा आफ्ना पितृलाई दिन लागेको त्यो पिण्ड पनि पाँचवटै तत्वहरुले मिलेर बनेको छ र ती पाँचवटै तत्वमा रहेको जुन शक्ति छ, त्यो कसरी त्यहाँ पुग्दछ भन्ने कुराको चर्चा तल गरिएको छ ।

श्राद्धमा प्रयत्नपूर्वक दिइएको पिण्ड आफ्ना दिवङ्गत भएका पितृहरु जुन रुपमा प्राप्त भएका छन् त्यही तिनीहरुको आहारका रुपमा प्राप्त हुन्छ । यस सन्दर्भमा हेमाद्रीले भनेका छन– ‘नामगोत्रं पितृणां तु प्रापकं हव्यकव्ययोः ।’

नामगोत्र र मन्त्रको सहायताले पितृहरुलाई श्राद्ध र विश्वासपूर्वक दिइएको वस्तु प्राप्त गर्दछन् । तर, नाम र गोत्रका वचनहरु ठीक र सही हुनु आवश्यक छ । जसरी चिठी लेखिसकेपछि ठेगाना गल्ती लेख्दा वा मोबाइलमा नम्बर गल्ती थिच्दा फोन अन्त गएजस्तै यी कुरा ठीक भएनन् भने र शुद्ध भएन भने पितृहरुले पाउँदैनन् । अब प्रश्न उठ्छ– त्यो जीवात्मा मरिसकेपछि कुन रुपमा गएको छ र त्यसले त्यो खिरको डल्लो कसरी खान्छ त  ?

माथि बताइएबमोजिम नाम, गोत्र आदि मिलाएर पढिने शुद्ध वाक्य, वेदका मन्त्र, ब्राह्मणको आचरणगत शुद्धता र कर्ताको शुद्धता, भक्तिभाव, अटल श्रद्धा आदिको तारतम्यपूर्वक मिलाएर कर्ताले आफूले अत्यन्त परिश्रमपूर्वक कमाएको त्यो शुद्ध वस्तुबाट बनाइएको त्यो पिण्डको पञ्चतत्व र मन्त्र तथा वचनका तरङ्ग, भावका तरङ्गहरु समन्वित रुपमा एकीकृत भई उसका पितृ जुन रुपमा प्राप्त भएका छन् र त्यसअनुरुप उसले जे जस्तो खान्छ, त्यही रुपमा परिणत हुन्छ । जस्तै– पितृ कुकुर, बिरालो आदि भएको भए उनीहरुले खाने खानेकुराको रुपमा त्यो पिण्ड परिणत हुन्छ । गाईवस्तु भएको भए राम्रो घाँसको रुपमा परिणत हुन्छ र मानिस भएको भए उसको प्रिय खानेवस्तुको रुपमा परिणत भई उसले पाउँछ र देवता आदि भएको भए अमृतरुपमा प्राप्त हुन्छ । पिण्ड सोझै त्यही रुपमा नगएर परिवर्तित रुपमा, तरङ्गित रुपमा जान्छ र पितृहरुले पाउँछन् अनि उनीहरुको आशीर्वादले सन्तानलाई दीर्घायू सुख र समृद्धि हुन्छ । यसरी श्राद्ध गर्दा पवित्र भावना र शुद्ध सङ्कल्पित वाक्य भएन भने त्यो पिण्ड पितृहरुले पाउँदैनन् ।

अन्त्यमा, ‘आत्मा वै जायते पुत्रः’ अर्थात् छोरो आत्मजस्तै हुन्छ । उसले श्रद्धा र भक्तिपूर्वक दिएको त्यो पञ्चभौतिक रुपमा रहेको त्यो पिण्ड आफ्ना पितृले भोजनको रुपमा पाउँछन् । आमाबाबु ईश्वरीय रुप हुन् । उनीहरु महान् हुन् । उनीहरु अमर छन् । जीवितरुपमा रहँदा हरेक प्रकारले मान–सम्मान गर्दै मृत्युउपरान्त पनि उनीहरुलाई सम्झिनु, सज्जन आध्यात्मिक विद्वान्हरुलाई आमाबाबुको रुपमा देख्नु र उनीहरुको वचनको अनुशरण नै आमाबाबुको वचन सम्झँदै कहिल्यै पनि गलत क्रियाकलापमा नलाग्नु नै श्राद्ध हो । खासरुपमा आमाबाबुले गरेका हरेक राम्रा काम पूरा भएका छैनन् भने त्यसलाई पूर्ण गर्नका लागि प्रतिबद्ध हुनु पनि श्राद्ध हो ।

मिलापको असोज अङ्कबाट

यसमा तपाइको मत

अन्य समाचार