यस्तो छ ड्रिम गर्लको ट्रेलर

काठमाडौ,
आश्विन १६ । 

चलचित्र ड्रिम गर्लको ट्रेलर सार्वजनीक गरिएको छ । ऋषिराज आचार्यको लेखन, निर्माण र निर्देशनमा बनेको चलचित्रको मङ्गलबार राजधानीमा पत्रकार भेटघटमा ट्रेलर देखाइएको हो । मंसिर ७ गते प्रदर्शन हुने चलचित्रको झण्डै तीन मिनेट लामो ट्रेलरमा कमेडी, लभ, एक्शन र सेन्टिमेन्ट्सको मिश्रण रहेको छ ।

ट्रेलर सार्वजनीक कार्यक्रममा निर्देशक ऋषिराजले पूर्ण मनोरञ्जक चलचित्र बनाउने कोसिस गरेको बताए । निर्माता अर्जुन शर्माले आफूहरुले अधिक राम्रो चलचित्र बनाएकाले सबैको साथ पाउने बिश्वास ब्यक्त गरे । अभिनेता आकाश श्रेष्ठले ड्रिम गर्ल आफ्ना बिगतका चलचित्रभन्दा भिन्न भएकाले दर्शकले मन पराउने बताए भने यही चलचित्रबाट डेब्यु गरेकी अभिनेत्री आश्मा गिरीले ठूलो पर्दाको आफ्नो पहिलो पाइला सफल हुनेमा आफू ढुक्क रहेको बताइन् । उनले ड्रिम गर्लले आफूलाई चलचित्र उद्योगमा स्थापीत गर्ने बिश्वास ब्यक्त गरिन् । अर्की अभिनेत्री पूजा पराजुलीले चलचित्रले दर्शकलाई खुशी बनाउनुका साथै आफ्नो कामको मुल्याङ्कन गर्ने आश ब्यक्त गरिन् ।

चलचित्रमा आकाश श्रेष्ठ, आश्मा गिरी, सरोज खनाल, अर्जुन श्रेष्ठ, बिल्सन बिक्रम राई, शिसिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा गैडा, लक्ष्मी गिरी, रश्मी भट्ट, सुरवीर पण्डितलगायतले अभिनय गरेका छन् । निर्देशक ऋषिराज स्वयम्, अर्जुन शर्मा र रामेश्वर धिताल निर्माता रहेको चलचित्रको सहनिर्मातामा दक्षिण भारतको रिल एण्ड रियल सिनेमा कम्पनी छ । कार्यक्रममा रिल एण्ड रियल सिनेमाका प्रमुख एन्टो रोचा पनि उपस्थिति थिए । दक्षिण भारतमा केही चलचित्र निर्माण गरेका एन्टोले आफूले नेपाली चलचित्र निर्माणलाई निरन्तरता दिने बताए । सोही कार्यक्रममा ऋषिराजको निर्देशनमा बन्ने नयाँ दुईटा चलचित्र–चुरीफुरी र द्रौपदीको समेत घोषणा गरियो । ड्रिम गर्ल प्रदर्शनपछि ती चलचित्र निर्माण गरिने ऋषिराजले जनाए ।

काठमाडौं, मुस्ताङ तथा थाइल्याण्डका बिभिन्न स्थानमा खिचीएको चलचित्रका गीतमा अर्जुन पोखरेलको सङ्गीत छ । गम्भीर बिष्टले कोरियोग्राफी गरेको चलचित्र राहुल राई र रामेश्वर हुमागाईले खिचेका हुन । नवीन निरौलाले सम्पादन गरेको चलचित्रलाई डिसिएनले बितरण गर्दैछ । यसअघि चलचित्रका तिम्रो मायामा हराउने र फुल टिपेर चढाए बोलका दुई गीत दर्शकमाझ आइसकेका छन् । दुवै गीतलाई स्रोता÷दर्शकले मन पराइरहेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार