काठमाडौं,
आश्विन ९ ।
चलचित्र ‘जय भोले’ यही ३० अर्थात फूलपाती देखि देशभरका सिनेमाघरमा आउँने भएको छ । प्रदर्शन मिति घोषणा गर्दै अशोक शर्मा निर्देशित चलचित्र ‘जय भोले’ को अफिसियल पोस्टर सार्वजनिक गरिएको हो । पोस्टरमा चलचित्रका अधिकांश कलाकार प्रस्तुत छन् ।
अभिनेता खगेन्द्र लामिछानेको कथा रहेको चलचित्रमा उनी प्रमुख भूमिकामा छन् । स्वस्तिमा खड्का, सौगात मल्ल, सलोन बस्नेत, बुद्धि तामाङ, राजाराम पौडेल, बसुन्धारा भुसाललगायतका कलाकारहरुको पनि अभिनय रहेको छ चलचित्रमा ।
ह्युमर तथा सोसल कमेडी ड्रामामा निर्मित चलचित्र ‘जय भोले’लाई किरन शर्मा, कृति शर्मा र अंकित शर्माले निर्माण गरेका हुन् । चलचित्रको यसअघि सार्वजनिक गीत ‘उम्लियो भने पोखिन्छ…’लाई स्रोता/दर्शकको रोजाईमा परेको छ ।
पुरुषोत्तम प्रधानको छायांकन, राजनराज सिवाकोटी/कल्याण सिंहको सङ्गीत, राज ढुंगानाको सम्पादन, बसन्त श्रेष्ठको नृत्य र रोशनविक्रम भट्टराईको एक्सन रहेको छ चलचित्रमा ।






