‘निर्जला’को आयो दशैँ गीत (भिडियोसहित)

काठमाडौं,
आश्विन ५ ।

यही आश्विन १९ गतेदेखि देशभरका सिनमोघरमा आउँन लागेको चलचित्र ‘निर्जला’को दशैँ गीत सार्वजनिक गरिएको छ । राजु गिरी निर्देशित चलचित्र ‘निर्जला’मा रहेको ‘यसपालीको दशैँ…’ बोलको गीतको भिडियो बिहीवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक भएको हो ।

गीतमा बाबुल गिरी र सुजता बर्माको स्वर रहेको छ । बाबुलकै सङ्गीत रहेको गीतको शब्द दिनेश सुवेदीले लेखेका हुन् । गीतको भिडियोमा किशोर खतिवडा, शुभेच्छा थापा र निक शर्मा लगायतलाई फिचरिङ गरिएको छ ।

चलचित्रको यसअघि सार्वजनिक गरिएको गीत ‘भाले मोटर…’लाई जस्तै ‘यसपालीको दशैँ…’लाई पनि दर्शक\स्रोताले रुचाउनेमा निर्माण टिम विश्वस्त छ । प्रकाशचन्द्र न्यौपाने निर्मित ‘निर्जला’लाई निर्देशक गिरी आफूले निर्देशन गरेका अन्य फिल्मभन्दा फरक भएको बताउँछन् ।

गाउँले परिबेशको कथामा निर्माण गरिएको निर्जलामा किशोर, शुभेच्छा, निकका साथमा श्याम राई, पल्पसा डंगोल, रश्मी भट्ट, राजकुमार थापा, राजेन्द्र गिरी, भीम खनाल, वाले तामाङ, तिलक कोइराला, अन्जली घिसिङ, प्रेम पौडेल र बालकलाकार काजल गिरीलगायतका कलाकारले अभिनय गरेका छन् ।

गीत सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेत्री थापाले ‘निर्जला’ आफ्नो लागि विशेष रहेको बताइन् । चलचित्रमा अशोक खड्काको द्वन्द्व, कमल राईको नृत्य तथा रवि कोइरालाको छायाँकन रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार