‘संस्कृति’ शब्दले व्यापक अर्थ र क्षेत्र ओगटेझैँ नेपालमा सम्पदाहरुको अवस्थिति पनि व्यापक र अर्थपूर्ण रहेका छन् । संस्कृति र सम्पदाले नेपाललाई मेलमिलापको सन्देश र संस्कार प्रदान गरिरहे तापनि हाम्रो हेराइ र व्यवहारमा प्रत्यक्ष हुन नसकिरहेको तथ्यलाई ध्यानार्कषण गर्नु हाम्रो दायित्व ठानेका छौं ।
‘सम’ उपसर्ग र ‘कृ’ घातु मिलेर बनेको ‘संस्कृति’ शब्दको अर्थ भूषणभूत सम्यक चेष्टा रहेको छ । जुन चेष्टाहरुद्वारा मनुष्य आफ्नो जीवनका समस्त क्षेत्रमा उन्नति गर्दै सुख-शान्ति प्राप्त गर्दछन्, ती चेष्टाहरु नै मनुष्यका लागि भूषणभूत सम्यक चेष्टा कहलिन्छन् ।
मनुष्यका लागि भूषणभूत एवम् आध्यात्मिक उन्नतिका लागि गरिएका चेष्टाहरु भूषणभूत सम्यक चेष्टा हुन् । एवम्प्रकार मनुष्यको वैयक्तिक, सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक आदि सबै क्षेत्रमा लौकिक–पारलौकिक अभ्यूदयको अनुकूल देहेन्द्रीय, मन, बुद्धि, चित्ताहङ्कारको चेष्टा नै उसको भूषणभूत सम्यक चेष्टा या संस्कृति हो । एवम्प्रकार मनुष्यको लौकिक–पारलौकिक सर्वाभ्यूदयको अनुकूल आचार–विचार नै संस्कृति हो । यही भनाइ तथा परिभाषा सत्य हुन् भन्ने कुरा हाम्रा सम्पदाहरुलाई देखेर भन्न सकिन्छ । तसर्थ, हाम्रो सम्पदा र संस्कृतिबीच अनस्याश्रित सम्बन्ध रहेको देखिन्छ । हाम्रो आचार र विचार सम्पदाको रुपमा साक्षी स्वरुप उपस्थित भएकाले हाम्रो प्राचीनता र सुसंस्कृत अवस्थालाई विश्वसामु प्रस्तुत गर्दै स्वाभिमानपूर्वक शिर ठाडो पार्न सक्दछौं ।

विश्वको ठूलो भूभाग हिंस्रक र परतन्त्र रहेका बेला हामी नेपाली उच्च ज्ञान तथा आचार–विचारका साथ सभ्यताको विकास गरिरहेका थियौं । संस्कृति र सम्पदाको संयोजनले सामाजलाई मेलमिलापमय बनाएर राखेको थियो भन्दा कुनै अतिशयोक्ति नहोला ।
संस्कृति र सम्पदाको संयुक्त उपस्थितिका कारण नेपाल खुल्ला सङ्ग्राहलयको रुपमा उपस्थित भई विश्वका लागि शान्ति र खोजको केन्द्र बन्न गएको छ । यिनै हाम्रा सम्पदा र संस्कृतिलाई मेलमिलापको दीर्घकालीन मार्गमा अगाडि बढाउने अभिप्रायले ‘न्यायिक समिति र स्थानीय सरकारः मेलमिलापको मार्ग चित्र’ विषयक कार्यपत्रका आधारमा राष्ट्रिय अभियानको थालनी गरिएको पाइएको छ ।
- केशवप्रसाद चौलागाईं
नेपालको संविधान २०७२ अनुसूची-८ मा स्थानीय तहको अधिकारको सूचीको २२ मा ‘भाषा, संस्कृति र ललितकलाको संरक्षणमा स्थानीय तहलाई समावेश गरिएको छ । एवम्प्रकार नेपालको संविधान भाग १७, धारा २१७ न्यायिक समिति (१) कानुनबमोजिम आफ्नो अधिकार क्षेत्रभित्रका विवाद निरुपण गर्न गाउँपालिक वा नगरपालिकाको प्रत्येक गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र प्रत्येक नगरपालिकाको उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहनेछ भनी व्यवस्था गरेको छ ।
स्थानीय तहलाई भाषा, संस्कृतिको संरक्षण र विकास गर्ने अधिकार प्रदान गर्नुका साथै मेलमिलापका लागि न्यायिक समिति समेतको व्यवस्था गरिएकोले संस्कृति, सम्पदा र मेलमिलाप सशक्त र भरपर्दो अभियान बन्न गई सामाजिक रुपान्तरणको उदाहरण बन्न सक्नेछ ।
दसवर्षे माओवादी द्वन्द्वले बिथोलिएको नेपाली समाज संविधानसभाद्वारा नयाँ संविधान निर्माण गरी अगाडि बढेको वर्तमान अवस्थामा पनि पुनः नयाँ प्रकारको द्वन्द्व र हिंसामा प्रवेश गर्ने सम्भावना देखिन्छ । स्थानीय तह, प्रदेश र सङ्घका बीचमा पनि अधिकार र कार्यक्षेत्रलाई लिएर द्वन्द्व भइरहेको देखिइरहेको छ । विशाल दुई छिमेकी चीन र भारतको बीचमा रहेको सानो मुलुक नेपालमा अन्तर्राष्ट्रिय चासो र स्वार्थका कारण नयाँ द्वन्द्वहरु थपिइरहने सम्भावनालाई यस प्रकार विश्लेषण गर्न सकिन्छ:-
१) धर्म निरपेक्षताविरूद्धको हिन्दूराष्ट्र समर्थकहरुको आन्दोलन र हिंसा ।
२) मधेश स्वराज्य र एक मधेश एक प्रदेश आन्दोलन र हिंसा ।
३) आत्मनिर्णयको अधिकारसहितको स्वायत्त प्रदेशको आन्दोलन र हिंसा ।
४) भारत र चीनबीच नेपाललाई प्रभावमा राख्ने प्रयत्न स्वरुप उत्पन्न हुने द्वन्द्व र हिंसा ।
५) स्वतन्त्र तिब्बतका लागि हुने गतिविधि र उत्पन्न हुन सक्ने द्वन्द्व र हिंसा ।
६) धर्मपरिवर्तन र विदेशी हस्तक्षेपविरूद्ध हुन सक्ने आन्दोलन र हिंसा ।
एक प्रकारको हिंसाले त मुलुक बर्बाद हुन सक्छ भने विविध ६ प्रकारको हिंसाले मुलुक कहाँ पुग्ला ? स्थानीय तह र परिचालन ऐनले तोकेका सामान्य मुद्दाहरुलाई निकास दिने कार्यका साथै न्यायिक समितिले माथि वर्णन गरिएका सम्भावित द्वन्द्वहरुलाई समेत निराकरण गर्ने गरी कार्यसम्पादन गर्न ‘संस्कृति, सम्पदा र मेलमिलाप अभियान’ले सहयोग पु¥याउन सक्दछ । हरेक मुलुकले आफ्नो समस्या सामाधान गर्न आफ्नै परिवेशलाई सुहाउँदो तरिकाहरुको अवलम्बन गर्न सक्नु पर्दछ ।
विश्व उपनिवेशको कालखण्डमा समेत मुलुकलाई एकीकरण गर्दै परतन्त्र हुनबाट बचेको नेपाल स्वभिमानी इतिहास र सहिष्णु संस्कृतिको स्रोत हो । हाम्रो परिवेशबाट आगामी दिनमा मुलुकलाई अखण्ड बनाइराख्नुका साथै शान्तिपूर्ण विकास गर्न निम्न आधारहरुले समेत सहयोग पुर्याउनेछन्:-
१) धार्मिक सक्रियताः
विभिन्न धर्म, संस्कृति र जातजाति मिलेर बनेको यस मुलुकमा सबैमा प्रेम, सद्भाव बढाउँदै हिंसाको राजनीतिलाई परित्याग गर्न धार्मिक समुदायको सक्रियता महत्वपूर्ण रहनेछ । ‘द्वन्द्वरुपान्तरण र शान्ति स्थापनामा धर्म तथा अध्यात्मिक क्षेत्रको भूमिका’ विषयक अनुसन्धानसँगै माओवादी द्वन्द्वकालमा सक्रिय भएको अन्तर्धार्मिक सहकार्यले समुदायबाटै हिंसालाई समाप्त गर्न मद्दत गर्नेछन् । आध्यात्मिक भावना र अभ्यास गर्ने जनसमुदायहरु ‘वयं राष्ट्रे जाग्रियाम पुरोहिता’ अर्थात् राष्ट्रका लागि जाग्रित भएर अगुवा बन भन्ने शास्त्रीय वचनलाई स्मरण गर्दै शान्ति र मेलमिलापका लागि सडकमा आउँदा सबैको स्वीकार्य हुने निश्चित छ ।
२०४७को संविधानपश्चात् अभ्यासमा आएको संवैधानिक राजसंस्था र बहुदलीय व्यवस्था-२०५२मा प्रारम्भ भएको माओवादी द्वन्द्वले समाप्त भएझैं २०७२को उत्कृष्ट संविधान र गणतान्त्रिक सङ्घीय व्यवस्थाका विरूद्ध पनि सङ्घर्ष नहोला भन्न सकिन्न । सधैँ राजनीतिकलगायत विविध क्षेत्रमा द्वन्द्व भइरहन सक्ने अवस्थामा शान्तिपूर्ण रुपान्तरणका लागि धार्मिक समुदायको भूमिका महत्वपूर्ण रहन्छ । द्वन्द्वकालको समाप्तीसँगै ‘स्वराज्य र मेलमिलाप’को वैचारिक र व्यावहारिक अभियानमा जुटेको धार्मिक समुदाय शान्तिपूर्ण संवैधानिक अभ्यासद्वारा समाजरुपान्तरणमा योगदान पुर्याइरहेको छ ।
प्रजातन्त्र, राष्ट्रियता र समावेशितालाई सम्बोधन गर्ने ‘स्वराज्य’को अवधारणले उदार वातावरणका लागि समेत जनसमुदायलाई प्रेरित गरी विकास र समृद्धितर्फ उन्मुख गराइरहेको छ । विस्तृत र बहुमतद्वारा जसको पालन हुन्छ त्यस्तो स्वराज्य शासनमा जनताको भलाइका लागि रहौं भन्ने वैद्धिक स्वराज्यको परिभाषाले सबै पक्षलाई समेट्दै राष्ट्रियहीतमा अघि बढ्न प्रेरित गर्दछ ।
सङ्कीर्णता, जडसूत्रवाद तथा उग्रवादवाट माथि उठेर सबैलाई समेटेर अगाडि बढ्न प्रेरित गर्ने स्वराज्यका कारण सबैले आफ्नो ठान्ने राज्य बन्नेछ । यस्तो सिद्धान्त र समुदायले सम्भावित हिंसाबाट नेपाललाई जोगाउन मद्दत गर्नेछ । यज्ञद्वारा दुश्मन पनि मित्र बन्दछन् भन्ने नारायण उपनिषदको कथनलाई आत्मसात् गर्दै मेलमिलापका लागि यज्ञ गर्ने नेपाली परम्परा मेलमिलापको परम्परा भएकोले मेलमिलापलाई संस्कृति र संस्कारकै रुपमा अगाडि बढाइरहेको पाइन्छ । अग्निशाला र अग्निहोत्रीहरुमार्फत् चौबीसै घण्टा मेलमिलापको कामनाका साथ भइरहेका हवन–यज्ञ संस्कृति र सम्पदाको रुपमा आज पनि अस्तित्वमा रहिरहेका छन् ।
पश्चिमा परिभाषा, प्रभाव र व्यवहारभन्दा प्राचीन हाम्रा ज्ञान, परम्परा र सम्पदाहरुको संयोजनद्वारा समाज र मुलुकलाई मेलमिलापमय बनाउने परम्परा उल्लेखनीय रहेका छन् । पर्यटन वृद्धि गराउने स्रोतदेखि शान्ति र मेलमिलाप बनाउने स्रोतका रुपमा रहेका हाम्रा संस्कृति र सम्पदालाई जीवनपद्धतिका रुपमा समेत अपनाउने बेला आइसकेको छ । जीवन्त कार्तिक नाचलगायतका चर्या नृत्य, देवी नृत्यहरुको संरक्षण र प्रदर्शनले सृष्टिका रहस्यहरु पनि बताउँदै मेलमिलापकै वातावरण बनाइरहेका छन् । खगोलीय ज्ञान र ज्योतिषीय अध्ययनले शरीर र ब्रह्माण्डबीचको सम्बन्धलाई परिभाषित गर्दै सृष्टिसँग हाम्रो सम्बन्धलाई जानकारी गराई सहअस्तित्वको महत्व बताइरहेका छन् ।
स्वर्गका इन्द्र र उनका पुत्रको इतिहास काठमाडौं र बझाङको मष्टोथानमा मनाइने इन्द्रजात्राले पुष्टि गरिरहेका छन् । सृष्टि, स्थिति र प्रलयको कारकको रुपमा ‘शिव ताण्डव नृत्य’लाई वैज्ञानिकहरुले पुष्टि गरिरहेको परिप्रेक्ष्यमा पशुपतिनाथ र विश्व व्यवस्थाबारे नेपालीहरुको प्रयास अन्तर्सांस्कृतिक सहिष्णुता र मेलमिलापका आधारका रुपमा मान्य भइरहेका छन् । संस्कृति, सम्पदा र मेलमिलाप भावी नेपालको आधार बन्नेछ ।
मिलापको भाद्र अङ्कमा






