काठमाडौं,
भाद्र २५ ।
आगामी असोज १२ गतेदेखि देशभर प्रदर्शनमा आउँन लागेको चलचित्र ‘छिरिङ्ग’को ट्रेलर सार्वजनिक गरिएको छ । अभिनेता तथा गायक यश कुमार अभिनीत तथा निर्देशित चलचित्र ‘छिरिङ्ग’को अफिसियल ट्रेलर आइतवार राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो ।
सार्वजनिक ट्रेलरमा प्रेम र द्वन्द्वले भरिएको छ । यो चलचित्रले बहुपतिप्रथाको कथा भन्छ । नव–नायिका कामना भुजेलसँग दुई अभिनेता तथा गायक यश र निमा रुम्बाले रोमान्स गरेका छन् ।
सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण रहेको चलचित्रलाई यश र याम थापाले मिलेर लेखेका हुन् । यशको यो पहिलो निर्देशित चलचित्र हो ।
‘छिरिङ्ग’ मा मानकृष्ण महर्जनको छायांकन, चन्द्र पन्तको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन छ । दुई पति भएकी एक युवतीले गर्नुपरेको भौतिक, मानसिक, सामाजिक र सांस्कृतिक द्वन्द्व चलचित्रको कथावस्तु हो ।






