काठमाडौं,
भाद्र ११ ।
लाक्पा डेण्डी शेर्पाको ‘दुई नयन’ सार्वजनिक भएको छ । अमेरिकामा बस्दै आएका शेर्पाको पहिलो गीति ‘दुई नयन’ सार्वजनिक भएको हो ।
राजधानीमा एक समारोहबीच बरिष्ठ गीतकार डा. कृष्णहरि बराल र सङ्गीतकार शक्ति बल्लभले संयुक्तरुपमा सार्वजनकि गरेका थिए । एल्बम सार्वजनिक गर्दै गीतकार डा. बरालले भने, ‘गीतकार शेर्पाका गीतहरु मन छुने छन् ।’ उनले एल्बममा समावेश राष्ट्रिय गीतले आफ्नो मन छोएको बताए ।
त्यस्तै, कार्यक्रममा बोल्दै सङ्गीतकार बल्लभले विदेशमा रहेर पनि नेपाली गीति लेखनमा शेर्पाले देखाएको गीति मोहलाई सकरात्मक रुपमा लिने पर्ने बताए । उनले भने, ‘गीतकार शेर्पाले प्रदेशमा बसेर पनि आफूलाई नेपाली गीतसङ्गीतमा उभ्याएका छन् । यो समग्र नेपाली गीतसङ्गीत क्षेत्रका लागि सकरात्मक कुरा हो ।’
गीतकार शेर्पाले आफ्ना दुई छोरीमा समर्पित गर्दै एल्बमको नाम ‘दुई नयन’ जुराएको जनाएका छन् । आफ्ना छोरीहरु आँखाको नानीजस्तै भएकाले आफ्नो पहिलो साङ्गीतिक कोशेलीलाई ‘दुई नयन’ नामाङ्कन गरेको उनको भनाइ थियो ।
सार्वजनिक एल्बममा बुद्धले परिनिर्माण, स्वच्छ आकाश, उठौँ बीरका सन्तती, म त अस्मिता लुटिएकी, (केटा केटी भर्सनमा छ) र माथि है साल्पा लेकैमा बोलका गीत रहेका छन् । जसमा जगदिश समाल, यशोदा तिमिल्सिना, विष्णु अधिकारी, गणेश पराजुली, यम बराल, डोमा शेर्पा, एपी शेर्पा र मेलिना राईको स्वर रहेको छ भने सङ्गीत ओम कर्माचार्य, सन्तोष श्रेष्ठ, गणेश पराजुलीलगायतको रहेको छ ।






