काठमाडौं,
भाद्र १० ।
अनमोल केसी स्टारर चलचित्र ‘क्याप्टेन’ को अफिसियल पोस्टर सार्वजनिक भएको छ । निर्देशक दीवाकर भट्टराईले शनिवार सामाजिक सञ्जाल फेसबुकमार्फत् चलचित्रको आधिकारिक पोस्टर सार्वजनिक गरेका हुन् ।
जितका लागि गोल हान्न मैदानमा सङ्घर्षरत एक फुटबल खेलाडीको अवस्थामा अनमोललाई चित्रण गरिएको छ । पोस्टरको ब्याकग्राउण्डमा उनी ११ नम्बरको जर्सीमा खेल मैदानतर्फ निहालिरहेका छन् ।
गाउँदेखि राष्ट्रिय स्तरको खेलाडी बन्न एउटा युवाले गरेको सङ्घर्षको कथा चलचित्र ‘क्याप्टेन’ ले बोल्छ । चलचित्रको आधिकारिक पोस्टर सार्वजनिक भएपनि प्रदर्शन मिति भने अझै घोषणा गरिएको छैन ।






