प्रज्ञा आधुनिक नेपाली कविता प्रकाशित

काठमाडौं,
भाद्र ५ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानबाट पछिल्लो पटक आधुनिक नेपाली कविताको प्रतिनिधिमूलक ग्रन्थ प्रकाशित भएको छ । प्रतिष्ठानको पद्य विभागको परियोजनाअन्तर्गत प्रकाशित तथा डा. लक्ष्मणप्रसाद गौतम र डा. नेत्र एटमद्वारा सङ्कलित तथा सम्पादित ‘प्रज्ञा आधुनिक नेपाली कविता’ नामक ग्रन्थमा बालकृष्ण समदेखि श्रवण मुकारुङ सम्मका गरी जम्मा १०४ जना प्रतिनिधि कविहरूका चार–चार वटा प्रतिनिधिमूलक कविता समाविष्ट गरिएको ग्रन्थ प्रकाशित भएको हो ।

प्रतिष्ठानका पद्य विभाग प्रमुख प्राज्ञ डा. अमर गिरीले ‘पछिल्लो पटक प्रकाशित ‘प्रज्ञा आधुनिक नेपाली कविता’ कविता विधाको क्षेत्रमा काम गर्दै आएका महत्वपूर्ण कार्यहरूको नवीनतम् कडी’ भएको उल्लेख गर्दै भने, ‘यो आधुनिक नेपाली कविताको एन्थोलोजी हो । यसमा आधुनिक नेपाली कविताको आरम्भदेखि अहिलेसम्मको विविध धारा र प्रवृत्तिको सुस्पष्ट चित्र आएको छ । यसबाट आधुनिक नेपाली कवितालाई बुझ्न महत्वपूर्ण योगदान पुग्छ ।’ प्राज्ञ गिरीले आधुनिक नेपाली कविताको एन्थोलोजी निर्माणको आवश्यकता बल्ल पूरा भएको बताए ।

कृतिका सम्पादकद्वय गौतम र एटमले ‘आधुनिक नेपाली कविताका पृथक्–पृथक् धाराहरुलाई अबलम्बन गरेका कविताका स्फुट कवितालाई प्रतिनिधित्व गराई आधुनिक नेपाली कविताको स्पष्ट अनुहार देखाउने उद्देश्यले सम्पादन गरिएको’ बताएका छन् । ‘विभिन्न धाराहरूको प्रतिनिधित्व गर्ने, काव्यिक स्तरीयता भएका, नेपाली कविताको विषय, विचार र शिल्पमा सौन्दर्य विस्तार गरेका, पाँच दशक उमेर व्यतीत गरी कम्तीमा पनि तीन दशकसम्म कवितामै समर्पित भएका र नेपाली कविका कविता ।’ सम्पादनका आधार रहेको उल्लेख गर्दै ‘लगभग साढे आठ दशकको अवधिमा सिर्जित र प्रकाशित कवितालाई ग्रन्थमा समेटेको’ प्रस्ट्याइएको छ । ग्र्रन्थमा १०४ जना कविका ४१६ वटा कविता समेटिएका छन् ।

प्रतिष्ठानबाट यसअघि ‘नेपाली कविता’ २०२९, ‘कविता सङ्ग्रह’ २०३४, पच्चीस वर्षका नेपाली कविता’ २०५०, ‘समकालीन नेपाली कविता’ २०५५, ‘प्रतिनिधि नेपाली आधुनिक कविता’ २०६७, ‘प्रज्ञा समकालीन प्रतिनिधि नेपाली कविता’ भाग एक र दुई’ २०७०, ‘नेपाली डायास्पोराका कविता’, २०७२, ‘समकालीन नेपाली नारी कविता’ २०७३ र ‘प्रज्ञा समकालीन नेपाली छन्द कविता’ २०७३ प्रकाशित भइसकेका छन् ।

प्रतिष्ठानका विभिन्न एघार वटा विभागबाट चार वर्षे कार्यकालमा सयभन्दा बढी महत्वपूर्ण अनुसन्धानमूलक ग्रन्थहरू प्रकाशित भएका छन् ।

यसमा तपाइको मत

अन्य समाचार