नेपाल बाहिर नेपाली भाषा, साहित्य र संस्कृतिको वैभव भएको स्थान हो सिक्किम । विगत २५ वर्षदेखि सिक्किमको वागडोर सम्हालिरहनुभएका मुख्यमन्त्री पवन चामलिङ एक सिद्धहस्त साहित्यकार कवि हुनुहुन्छ । सिक्किममा धेरै नेपाली भाषाका कवि, साहित्यकार हुनुहुन्छ । यस्तैमध्ये पेशाले इन्जिनियर भए पनि साहित्यतर्फ पनि उत्तिकै उचाई चुम्न सफल हुनुहुन्छ कवि, कथाकार तथा नाटककार विमल काफ्ले ।
प्रत्यक्षरुपमा विमलजीसँग मेरो भेट नभए पनि उहाँका रचना, नाटक, कविता र कथाहरुसँग मेरो परिचय पुरानो नै हो । यसै मिलाप म्यागजिनमा उहाँका थुप्रै रचनाहरुको रसस्वादन गर्ने मौका पाएकी छु मैले । यिनै विमल काफ्लेको कथासङ्ग्रह ‘लहड अनि तरङ्गहरु’ छ यति बेला मेरो हातमा । उहाँको साहित्यक चेतसँग यो कृति आउनुभन्दा अगाडि नै परिचित म यो कथासङ्ग्रह पढेपछि अझ बढी परिचित हुने मौका पाएँ ।

एक सय ४८ पृष्ठको यो कथासङ्ग्रहमा वरिष्ठ साहित्यकार डा. वासुदेव त्रिपाठीले ५४ पृष्ठ ‘विमल काफ्लेको कथासृजनः समीक्षात्मक अभिमत’ लख्नुभएको छ । डा. वासुदेव त्रिपाठीको समीक्षात्मक अभिमतले विमल काफ्लेको कथाकार व्यक्तित्व कञ्चनजङ्घाझैं उच्च देखिन्छ । उहाँको अभिमत पढेपछि विमलका कथाभित्रका केस्रा-केस्रा बुझ्न सकिन्छ । साँच्चिकै एक अब्बल दर्जाको कथाकारका रुपमा आउनुभएको छ विमल यो कृतिमार्फत् । त्यस्तै, साहित्यकार महेश प्रसाईंको प्राक्कथन पढेपछि विमल असाधारण प्रतिभा भएका साहित्यकार भएको प्रत्याभूति हुन्छ ।
– गीता अधिकारी
कथासङ्ग्रहमा विमलले सरगेट माई, मैदले गाउँ मरिया बस्ती भयो, उसको ड्यासहण्ड, सरकारी चालक, लालेको मलामी, इलेक्ट्रोनिक समाज, मनकुमारी पनि घरै बस्छिन्, हामी कपास कि लुगा, टेबल टेबलका गफहरु, युगानुकूल छोरो, योजनै योजना, आतङ्कवादीको बसियत, सद्भावना दल, भावनात्मक पैकारीहरुजस्ता १४ कथा समावेश गर्नुभएको छ ।
एउटा कथा पढ्न सुरु गर्दा अन्य कथाले पनि आकर्षित गर्ने यस सङ्ग्रहका कथा रोचक छन्, शिक्षामूलक छन् । कथामार्फत् सामाजिक व्यङ्ग, जीवन, चिन्तन, परिवर्तित राजनीति, समयचेत, उत्पीडन, कर्तव्य, राष्ट्रप्रेम, जीवनजगत् र प्रकृतिलाई अत्यन्त सरल ढङ्गले गहन कुराहरु पस्किनु भएको छ विमलजीले यस कृतिमार्फत् । विमल आफ्नै मौलिक दृष्टिकोणसहित प्रस्तुत हुनुभएको छ यो कृतिमा । उहाँले कथामा शालीन, सौम्य र साङ्केतिक भाषा शैलीको प्रयोग गर्दै सन्तुलित विम्ब प्रतीकको प्रयोग गर्नुभएको छ कथाहरुमा । उहाँका प्रत्येक कथा भिन्नभिन्न शैली र आफ्नैपनमा छन् ।
अर्काका लागि बच्चा जन्माइदिने ‘सेरगेट माई’, हेर्दाहेर्दै धर्म परिवर्तनको नाउँमा हाम्रो आफ्नै संस्कार र संस्कृति भएको ‘मैदल गाउँ कसरी मरिया बस्ती’ भयो, हरेक ठाउँमा समावेशीताको नाउँमा आएको विकृतिले खेलकुदमा पनि कस्तो प्रभाव पार्दो रहेछ भन्ने ‘सद्भावना दल’लगायतका सबै कथा पढे पछि लाग्छ कथेका कथा होइनन् यी । विमलले र हाम्रो समाजले भोगेका, देखेका, अनुभव गरेका र प्रत्यक्ष अनुभूति गरेका पढ्दै जाँदा आफैं कथाहरुमा कतै न कतै पात्रका रुपमा भेटिन्छ । यसैले त उहाँका कथा जीवन्त छन् । उहाँका कथामा वर्तमान यथार्थ छ । त्यसैले उहाँ यथार्थवादी लेखकको पङ्क्तिमा दर्ज हुनुभएको छ ।
यसअघि विमलजीको नाटक व्यक्तित्व र कवि व्यक्तित्वबाट उहाँका रचनामार्फत् परिचित म कथा व्यक्तित्वबाट पनि परिचित हुने मौका पाएँ र उहाँका कथाहरुको रसस्वादन गर्ने मौका मिल्यो । कवि, गीतकार, आख्यानकार, नाटककार उहाँका अन्य साहित्यिक रचनाहरुको रसस्वादन गर्न पाइयोस्, कामना !






