काठमाडौं,
श्रावण १४ ।
सनातन हिन्दू धर्ममा महत्वपूणै दिनका रुपमा रहेको गुरुपूर्णिमा विन्यावासिनी आध्यात्मीक संघले जगदाचार्य नेपाली बाबाको उपस्थितिमा भब्यताका साथ मनाएको छ । उक्त अवसरमा संघको साधरणसभा तथा अधिवेशन पनि भएकोले नयाँ कार्यसमितिको पनि चयन गरिएको छ ।
संघका अध्यक्ष केशवप्रसाद चौलागाईंको अध्यक्षतामा सम्पन्न गुरुपूर्णिमा तथा अधिवेशनमा प्रमुख अतिथिको रुपमा पूर्वमन्त्री तथा राजदूत दीपकुमार उपाध्ययले गुरुको महत्व र हिन्दूधर्मका बारे बोल्नुभएको थियो ।
दीपकुमारले धर्म निरपेक्षताको घोषणा पछि धर्मप्रति जनताहरुमा विशेष अस्था बढेको उल्लेख गर्दै आध्यात्मिक वातावरण रहेको नेपालमा धर्म निरपेक्षताको औचित्य नरहेको तर्फ इगिंत गर्नुभयो ।

जगदाचार्य नेपाली बाबाले भावुक हुँदै धर्मको महत्व र आफ्नो अभियानका बारे प्रकाश पार्नुभएको थियो । निर्माणधिन विन्ध्यावासिनी मन्दिरलाई सम्पन्न गरी धार्मिक गतिविधिलाई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत पुर्याउन अन्तर्राष्ट्रिय समितिको गठनको समेत घोषण गर्नुभयो ।
सभापतिको आसनबाट संघका अध्यक्ष केशवप्रसाद चौलागाईंले बाबाद्वारा सम्पन्न विश्व शान्ति महायज्ञ, नेपाल भारत पदयात्राहरु एतिहासिक रहेको उल्लेख गर्नुभयो । द्वन्द्वकालमा समेत अनुसन्धान र संजाल निर्माण गरी विश्वभरी सम्मेलेनहरुमा सहभागिता जनाउँदै वर्तमानमा स्वराज्य र मेलमिलाप अभियानलाई अगाडी बढाइरहेको बताउनुभयो ।
पूर्वसचिव अनन्तराज पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमितिको गठन गरिएको छ । संस्थाका महासचिव डा. लक्ष्मिकान्त पाण्डेले सञ्चालन गरेको उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष कपिल सेढाईले स्वागत मन्तव्य राख्नुभएको थियो भने गीतकार तथा सङ्गीतकार रामजी नेपालीले मिलाप गीत प्रस्तुत गरि उपस्थित सबैलाई मन्त्रमुग्ध पार्नुभएको थियो ।






