काठमाडौं,
श्रावण १३ ।
‘मिठो सम्झना’को अडियो भिडियो सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमकाबीच ‘मिठो सम्झना’को अडियो भिडियो सार्वजनिक गरिएको हो ।
सार्वजनिक कार्यक्रमलाई स्वागत गर्दै गायिका स्वरुपा रसाइलीले विगतका वर्षहरुमा जस्तै तीज गीत ‘मिठो सम्झना’ लिएर आएको हुँदा सबैले मन पराइदिने विश्वास व्यक्त गरिन् ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ पत्रकार शान्तिप्रियले ‘मिठो सम्झना’को अडियो भिडियो सार्वजनिक गर्दै तीजका गीत सुन्दा तीजजस्तो लाग्न छाडेको बताए ।
पछिल्लो समय तीजका गीत भन्दै रत्यौली गीतहरु हावी भएको हुँदा तीजको मौलिकता मर्न नदिने प्रयाससँगै ‘मिठो सम्झना’ निर्माण भएको हो, सङ्गीतकार बी.बी. अनुरागीले ‘मिठो सम्झना’को अडियो भिडियो सार्वजनिक गर्दै भने ।
मिठो सम्झनालाई विजयकुमार सुनारले लेखेका हुन् भने बीबी अनुरागीले सङ्गीत भरेका छन् । सङ्गीत संयोजनसमेत अनुरागीकै रहेको छ भने गीतमा लोकप्रिय गायिका स्वरुपा रसाइलीले स्वर दिएकी छन् । साथमा आमा पवित्रा रसाइलीले स्वरमा साथ दिएकी छन् ।
मिठो सम्झनाको म्युजिक भिडियो शिव विकले निर्देशन गरेका छन् भने रविन्द्र बरालले छायाँकन गरेका छन् । रविन विकको सम्पादन रहेको मिठो सम्झनालाई ओपल अडियो भिडियोले बजार व्यवस्थापन गरेको छ ।






