नेपालगञ्ज
श्रावण १३ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. जीवेन्द्र देव गिरीलाई मधुकर पुरस्कार प्रदान गरिएको छ । उनलाई शनिवार बाँकेको नेपालगन्जमा एक कार्यक्रम आयोजना गरी प्रेमप्रकाश मल्ल ‘मधुकर’को ८३ औँ जन्मजयन्तीका अवसरमा सो पुरस्कार प्रदान गरिएको हो ।
भेरी साहित्य समाज केन्द्रीय समिति नेपालगन्जद्वारा आयोजित उक्त समारोहमा गिरीलाई नगद २५ हजार १ सय ११ रुपैयाँ राशिको प्रेमप्रकाश मल्ल ‘मधुकर’ पुरस्कारद्वारा सम्मानित गरिएको थियो ।
समाजका अध्यक्ष प्राज्ञ हरिप्रसाद तिमिल्सेना र संस्थापक वाणीश्री मल्लले प्रा.डा. गिरीलाई दोसल्ला ओडाई ताम्रपत्रद्वारा गरिएको हो।
सो अवसरमा सदस्य सचिव प्रा.डा. गिरीले बाँके जिल्ला साहित्य, संस्कृति तथा लोकसाहित्यको अपार सम्भावना भएको जिल्ला हो भन्दै नेपाली साहित्यको विकासका लागि प्रज्ञा–प्रतिष्ठानले गरेका गतिविधिको चर्चा गरे । कार्यक्रममा वरिष्ठ कथाकार सनत रेग्मी, महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका क्याम्पस प्रमुख गणेशकुमार रेग्मी, प्रेमप्रकाश मल्ल स्मृति पुरस्कार कोषका संस्थापक छोरी वाणीश्री मल्लले स्व। मल्लको साहित्यिक जीवनका बारेमा बोलेका थिए ।
उक्त कार्यक्रमममा सर्वदा संगम साहित्यका अध्यक्ष खगेन्द्र गिरी कोपिलाले गायक, रचनाकार तथा संगीतकार स्व। प्रेमप्रकाश मल्ल ‘मधुकर’को जीवनीबारे प्रकाश पारेका थिए । ‘मधुकर’को जन्मको नाम प्रेमजंग मल्ल थियो । पछि उहाँले प्रेमप्रकाश मल्ल राख्नु भयो । त्यसपछि साहित्य क्षेत्रमा आएपछि प्रेमप्रकाश मल्ल ‘मधुकर’ नाम जोड्नु भयो । उहाँ २७ वर्ष सम्म बाँके जिल्लाको पञ्चायत विकास प्रशिक्षण केन्द्र महेन्द्रनगरका उच्च समादेशकको रुपमा रहनु भएको थियो । उहाँका ८ वटा कृतिहरु प्रकाशित छन् ।
कार्यक्रममा प्रा.डा. गोपालप्रसाद अधिकारी, भेरी साहित्य समाजका सल्लाहकार तथा वरिष्ठ पत्रकार पूर्णलाल चुके, हाम्रो पूर्णिमा साहित्य समाज कोहलपुरका अध्यक्ष महानन्द ढकाल, चरित्रा शाह, कमल विष्ट, जगत तिमिल्सिना, अन्जुमन उर्दू अदबका अध्यक्ष अन्सर नेपाली, बार्दली फाउन्डेसनकी अध्यक्ष ऋचा लुइटेल, ईश्वर रिजाल, अवधी साँस्कृतिक बिकास परिषद्का अध्यक्ष सच्चिदानन्द चौबे, अवधी साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष विष्णुलाल कुम्हार, करिश्मा योगी, शिशिर सापकोटा, अलाउद्दीन स्मृति साहित्यिक सम्मान प्रतिष्ठानका अध्यक्ष असफाक संघर्ष, सर्वदा साहित्य संगमका सचिव श्रीधर भण्डारी, पूर्ण समीर महतरा, ज्ञानेन्द्र बहादुर सिंह, दलजीत, पुष्पमणि प्रधान, भोजराज प्याकुरेललगायतले आ–आफ्ना लेख रचना वाचन गरेका थिए ।






