मनसुन थप सक्रिय, सतर्क रहन आग्रह

काठमाडौं,
साउन ३ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी प्रणाली थप सक्रिय बन्दै गएपछि आज (आइतवार) अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा केही उत्तरतर्फ तथा पूर्वी नेपालमा भने सरदर स्थानकै आसपास रहेकाले देशभर वर्षा गराउने प्रणाली सक्रिय बनेको हो ।

महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिनभर मौसम बदली रहने र अधिकांश स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ ।

उच्च हिमाली क्षेत्रमा वर्षासँगै हिमपातको समेत सम्भावना रहेकाले हिमाली भेगको यात्रा तथा पर्वतारोहणमा जानेहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ । महाशाखाका अनुसार आज कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा तथा बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ । साथै मधेस, बागमती र गण्डकी प्रदेशका तराईका केही क्षेत्रमा पनि भारी वर्षाको सम्भावना छ ।

त्यसैगरी, कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । लगातारको वर्षाले नदी तथा खोलानालामा पानीको सतह तीव्र रूपमा बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

यस्तै, आज राति पनि देशभर अधिकांश स्थानमा मौसम बदली रहने छ । हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । कोशी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका अधिकांश स्थान तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा तराई क्षेत्रका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ ।

रातिको समयमा पनि कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ । यस्तै, मधेस र बागमती प्रदेशका पहाडी तथा तराईका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने जनाइएको छ । विशेषगरी कोशी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अति भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले निरन्तरको वर्षासँगै आकस्मिक बाढी, पहिरो, डुबान, गेग्रान बहाव तथा नदी कटानको जोखिम उल्लेखनीय रूपमा बढ्न सक्ने चेतावनी दिएको छ ।

प्राधिकरणले नदी, खोलानाला र पहिरोको जोखिम भएका क्षेत्र आसपास अनावश्यक आवतजावत नगर्न, सुरक्षित स्थानमा बस्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायबाट जारी गरिएका सूचना तथा निर्देशनको पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

मौसमविद्हरूले आगामी केही दिनसम्म पनि मनसुन सक्रिय रहने सम्भावना रहेकाले विशेष गरी पहाडी तथा तराईका जोखिमयुक्त जिल्लामा बसोबास गर्ने नागरिकलाई मौसमको अद्यावधिक जानकारी नियमित रूपमा लिन र आवश्यक सतर्कता अपनाउन सुझाव दिएका छन् ।

यसमा तपाइको मत

अन्य समाचार