साउने संस्कृति

साउन महिनालाई नेपाली चेलीहरुका लागि विशेष महिनाको रुपमा लिइन्छ । बाटोमा हिँडिरहेका नारीहरुलाई हरेर नै थाह हुन्छ कि यो साउन महिना हो । हातभरि हरियो चुरा र गाढा मेहेन्दीका साथ हरियै लुगा लगाएर हिँडेका माहिलाहरु यो महिना सर्वत्र देखिन्छन् । लाग्छ, एक खालको फेशन शो भइरहेको छ । साना–साना नानीदेखि हजुरआमाको उमेरसम्मका सबैले एकै खालको लुगा लगाएको देखिन्छ । विवाहित महिलाले साउन महिनामा हरियो चुरा, हातमा मेहन्दी लगाए तिनका पतिको आयू बढ्छ भन्ने मान्यता छ । अनि अविवाहिता महिलाले लगाए मनले चिताएको वर पाइन्छ रे । यद्यपि एकातिर धर्म–संस्कृतिका रुपमा लिइए पनि अर्कोतिर यो फेसनजस्तै पनि बन्दै गएको छ । तर, जे होस्, यो महिनामा हरियो चुरा–पोते र मेहन्ती लगाउनुले विशेष महत्व राख्दछ । यो महिनालाई शिवजीको महिना भनेर पूजाआर्चना गरिन्छ । भगवान्को आस्थाको एउटा स्वरुपका रुपमा लिन पनि सकिन्छ ।

पछिल्लो समयमा देशलाई धर्मनिरपेक्ष मुलुकका रुपमा घोषणा गरिए पनि हाम्रो देश हिन्दूहरुको बाहुल्य भएको देश नै हो । हिन्दू धर्ममा हरेक दिन केही न केही चाड पर्व तिथिहरु परी नै रहेका हुन्छन् । यो वर्षको साउन महिना गत मंगलबार सुरु भएको छ । साउन महिनाको पहिलो दिन मंगलबार साउने संक्रान्तिको रुपमा मनायौं हामीहरूले देशभरनै ।

हिन्दूले मनाउने चाडमध्ये साउने संक्रान्ति एउटा महत्वपूर्ण चाडपर्व हो । यसलाई अयन संक्रान्ति कर्कट संक्रान्ति पनि भन्ने गरिन्छ । वर्षमा दुई अयन हुन्छन् । सूर्यको उत्तर र दक्षिणी हिँडाइको गति अयन हो । ज्योतिष शास्त्रानुसार सौर्य तिथिको हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गरी दक्षिणायन हुने हुनाले यसलाई ‘कर्कट संक्रान्ति’ पनि भनिएको हो भन्नु हुन्छ ज्यो पं. भरतमणी मरासीनी । उहाँका अनुसार सामान्यतया सूर्यले सबै राशिलाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ । साउने संक्रान्तिका दिनदेखि सूर्य उत्तरी गोलार्दबाट दक्षिणिगोलार्द तर्फ प्रवेश गर्ने भएकोले दिन छोटो र रातलामो हुँदै जाने विश्वास गरिन्छ ।

  • गीता अधिकारी

त्यस्तै पशुपति सूर्यघाटमा लामो समयदेखि अनुसन्धान गर्दै आउनुभएका केशवप्रसाद चौलागाईंका अनुसार साउने संक्रान्तिलाई सूर्य उपासनाको पर्वको रूपमा लिइन्छ । सूर्य सबैले प्रत्यक्ष देख्न सक्ने देवता हुन् । सूर्य नभए प्राणीको अस्तित्व नै संकटमा प्रर्दछ । त्यसैले यस दिन मानिसहरू तीर्थस्थल एवम् घाटहरूमा दिन स्नानशुद्धि पश्चात् सूर्य भगवान्को दर्शन, पूजन र भजन गरेर मनाएका छन् । कसैले यस दिन श्री सत्यनारायणको पूजा गरी व्रत उपवास पनि गरे ।

साउन एक गते हामीकहाँ लुतो फ्याँकने पर्वको रूपमा पनि प्रचलित छ ग्रामीण इलकातिर । साँझ परेपछि कण्डारक राक्षसको पूजाआजा गरी फलफूलसहित अँगेनामा कुरिलो र तीतेपातीका डाँठहरू सल्काएर अगुल्टोलाई पूर्व, पश्चिम, उत्तर र दक्षिण चारै दिशा घुमाउँदै ‘लुतो लैजा’, ‘मेरा खटिरा पटिरा लैजा’ भन्दै हुरुहुरु चारैतिर फ्याँकेर सेलाइन्छ ।

साउन महिना फेरि हुन्दू नारीका लागि त्यतिकै महत्वको रहेको छ । शिवजीको आराधनाका रूपमा लिइन्छ यो महिनालाई । साउन महिनाले नेपालीखास गरी हिन्दू धर्मसँग सम्बन्धित परम्पराका चाडहरू भित्र्याउने भनाइ छ । नेपालभर स्नान, दान, होम, श्राद्धजस्ता विशेषकार्यको सुरुवात यही दिनदेखि गरिन्छ । हिन्दू धर्मअनुसार सूर्य दक्षिणायन हुँदा देवताका रात र पितृको दिन हुने भएकोले हिन्दूधर्मावलम्बीले साउन महिनादेखि पितृकार्यको थालनी गर्ने प्रचलन पनि रहेको छ । विवाहहित महिलाहरू साउने संक्रान्तिदेखि साउनमहिना भर सौभाग्यको प्रतीक र वस्त्र पहिरिने र साउन महिनाभर प्रत्येक सोमबार ब्रत बसी शिवको पूजा आराधना गर्दछन् ।

धार्मिक दृष्टिले साउन पवित्र महिना मानिन्छ । त्यसमा पनि साउनको सोमबारको छुट्टै महत्व रही आएको छ । परम्परागत संस्कृति लोप हुँदै गएको भन्ने गरिए पनि नेपाली महिलाहरूले भने साउन महिनाको सोमबार विषेश रूपमा मनाउँदै आएका छन् । कसैले परम्परा जोगाउन त कसैले फेसनकै रुपमा हरिया चुरा र मेहेन्दी लगाएर साउने सोमबार मनाउने गरेका छन् ।

हिन्दू महिलाहरूले साउन महिनालाई विशेष महत्वका रुपमा लिने गरेका छन् । साउन महिनामा पार्वतीले शिवलाई पाउनका लागि ब्रत बसेको र ब्रतकै कारण पार्वतीले शिवजी पाएको धार्मिक विश्वासमा नेपाली महिलाहरूले श्रीमान्को भलाइको कामना गर्दै ब्रत बस्दै आएका छन् । हरेक वर्षको साउनको सोमबार नेपाली हिन्दू महिलाहरू ब्रत बस्ने गर्दछन् । साउन महिनाभर माछा मासु नखाई, हरियो चुरा र मेहेन्दीलगाई ब्रत बस्दा अविवाहित महिलाहरूले राम्रो वर र विवाहितहरूले आफ्नो पतिको आयु लामो हुने तथा परिवारमा सुख शान्ति र अटल सौभाग्य प्राप्त हुने जनविश्वास रहेको छ ।

साउन महिनाको हरेक सोमबार बिहानैदेखि महिलाहरूको काठमाडौंको पशुपतिनाथ मन्दिर तथा देशका अन्य शिवमन्दिरहरूमा पनि महिलाहरू श्रद्धा भक्तीपूर्वक पूजाअर्चना गर्ने गर्दछन् । साउन महिनामा चारैतिर हरियालीसँगै ब्रतालु महिलाहरू हरिया चुरामा सजिन्छन् । यसैले पनि साउनमा राजधानीका शहर बजारमा मेहेन्दी र हरिया चुरा लगाउनेको संख्या बाक्लो देखिन्छ । यस सम्बन्धितका पसलेलाई पनि चुरा बेच्न तथा मेहेन्दी लगाइदिन भ्याइनभ्याई भएको छ यतिबेला ।

हरियो चुरा, हरियै रंगका कपडा तथा मेहन्दीको व्यापार बढछ यो महिनामा । काठमाडौंको विशेषतः न्यूरोड, असन, पुतलीसडक, सुनधारा, पशुपतिनाथ मन्दिर आसपासका पसलहरूमा हरियो चुरा र मेहन्दी लगाउने युवतीहरूको भीड नै लागेको छ । यसरी पसलहरूमा भीड लाग्नुको मुख्य कारण भनेको अरूको सिको गर्नु हो । धर्म कर्ममा विश्वासभन्दा पनि फेसनकै आधारमा युवतीहरू पछि लागेकाले पनि यसको व्यापार बढेको देखिन्छ ।

पछिल्लो समयमा फेसनले गर्दा चाडवाड र संस्कृतिहरू जोगिरहे पनि वास्तवमा आफ्नो संस्कृति जीवन्त बचाइ राख्नुपर्छ भन्नेहरूको पनि कमी छैन । हाम्रा सांस्कृतिक धरोहरहरू जोगाइ राख्न के युवा के युवती वा वृद्ध वृद्धाहरू नै किन नहुन्, सबै लागि परे हाम्रो देश सधैँभरि सांस्कृतिक र धार्मिक सम्पदामा धनी भइरहने छ । हाम्रा चाड पर्व र संस्कृतिहरूमा मनोवैज्ञानिक, सामाजिक तथा स्वास्थ्यलाभका कुराहरू धेरै पाइन्छ । यस्ता हाम्रा परम्पराहरू जोगाइराखेर भोलिको पुस्तामा जस्ताको तस्तै हस्तान्तरण गर्नु तपाईं हामी सबैको कर्तव्य हो । हाम्रा चाल चलन, रिति रिवाज र परम्परामा भएका राम्रा कुराहरूको अनुसरण गर्दै जानु र नराम्रा कुराहरू छोडदै जानु नै सबैका लागि हतिकर हुन्छ ।

यसमा तपाइको मत

अन्य समाचार