काठमाडौं,
श्रावण ४ ।
स्रष्टा नरेश नातिको कथासङ्ग्रह ‘देश बिर्सेर’ सार्वजनिक भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति एवम् वरिष्ठ कवि बैरागी काइँलाले बेलायत बसोबास गर्दै आएका युवा स्रष्टा नातिद्वारा लिखित कथासङ्ग्रह ‘देश बिर्सेर’को राजधानीमा विहिबार लोकापर्ण गरेका हुन् ।
नेपाली वाङ्मय परिषद् तथा नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले आयोजना गरेको कृति लोकार्पण समारोहमा बोल्दै प्रमुख अतिथि काइँलाले कथाकार नरेश नाति बहुमुखी प्रतिभाको धनी भएको बताए ।
कवि, कथाकार तथा नाटकककार गोपाल पराजुलीले सैनिकको जीवनमा सधैँ परीक्षा आइरहने उल्लेख गर्दै सैन्य सेवामा सेवारत लेखक नातिको कृति नेपाली साहित्यमा सफल हुने विश्वास व्यक्त गरे ।
कवि तथा कथाकार समेत रहेका नेपाल प्रज्ञा–प्रतिष्ठानका आख्यान विभाग प्रमुख प्राज्ञ मातृका पोखरेलले नेपाली साहित्यमा लाहुरे समुदाय र वैदेसिक रोजगारीमा गएका श्रमिक वर्गका विषयमा धेरै कुरा लेखिन बाँकी रहेको बताए ।
प्रज्ञा–प्रतिष्ठानका मातृभाषा साहित्य विभाग प्रमुख प्राज्ञ श्रवण मुकारुङले रचनामा स्पेस र टाइमको विशेष महत्व हुने उल्लेख गर्दै नातिका कथामा ती विशेषता पाइने धारणा राखे । लेखक तथा समालोचक महेश पौड्यालले नातिका कथाहरू सत्यको नजिक भएको बताए ।
ब्रिटिस सैन्य सेवामा कार्यरत नातिले कथा लेखनको पृष्ठभूमि सुनाउँदै भने, ‘म कर्तव्य पालनको सिलसिलामा अफगानिस्तानमा खटिएको थिएँ । एक दिन मैले त्यहाँका पाखाभरि चिहानै चिहान देखेँ । पछि थाहा पाएँ ती चिहानहरू त दोस्रो विश्वयुद्धमा मारिएका गोर्खालीहरूका रहेछन् । मनमा नरमाइलो भयो ।’ भावुक हुँदै उनले थपे, ‘एक दिन त मेरै गुरुजी पनि त्यहाँ मारिनुभयो । लडाईंमा गएका आफ्नो पतिका लागि घरबाट पत्नीले सेलरोटी पकाएर कोसेली पठाइदिने चलन हुन्छ । ती गुरुजी मारिएको खबर सुनाउन एक जना अफिसर उनको घरमा जाँदा गुरुजीकी पत्नी सेलरोटी पकाइरहेकी थिइन् रे । यी र यस्तै कुराहरूले मलाई यी कथा लेख्न प्रेरित गरेका हुन् ।
वाङ्मय परिषद्का अध्यक्ष शशी लुमुम्बूले बेलायत डायास्पोरा नेपाली साहित्यकोे मलिलो भूमि भएको कुरा नातिको कथा सङ्ग्रहले सावित गरेको दाबी गरे ।
यसअघि ‘बाटो खोज्दाखोज्दै’ गीत र ‘मन बेइमानी’ मुक्तक सङ्ग्रह प्रकाशित गरिसकेका नातिको तेस्रो कृतिको रुपमा प्रकाशित ‘देश बिर्सेर’मा ‘युद्ध’, ‘माङपाहाङ जेठा’, ‘नरम चना भुत्ले साग’, ‘बाँसको भ¥याङ’, ‘स्मृति’, ‘देश बिर्सेर’, ‘अफगानिस्तान’, ‘रामलेपा’, ‘इकमान’, ‘इन्टरनेट’, ‘निस्सासिएको एक पल’ र ‘त्यो प्रेम’ जस्ता १२ वटा कथा समावेश गरिएको छ ।






