काठमाडौं,
आषाढ ३२ ।
चलचित्र ‘साली कस्को भेनाको’ ‘माया तिमीलाई…’बोलको गीत सार्वजनिक गरिएको छ । मरिस्का पोखरेल र पुष्प आचार्य फिचरिङ ‘माया तिमीलाई…’ गीतको भिडियो सार्वजनिक गरिएको हो ।
सोमबार राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको गीतमा सुरजसिंह ठकुरीको शब्द तथा सङ्गीत रहेको छ भने ठकुरी र आकांक्षा बस्यालको स्वर रहेको छ । उक्त कार्यक्रममा चलचित्रमा समावेश लोक लयको गीतको भिडियो पनि देखाइएको थियो ।
‘कान्छी’, ‘सन्तान’ र ‘कर्जा’ जस्ता चलचित्र बनाएका रामप्रसाद श्रेष्ठले लामो समयपछि ‘साली कस्को भेनाको’ चलचित्र बनाएका हुन् । जसमा विल्सन विक्रम राई, रजनी गुरुङ, मरिस्का पोखरेल, सुस्मा कार्की, रवि गिरी, बुद्धि तामाङ, जयनन्द लामा, कविता आले, विरेन श्रेष्ठ, पुष्प आचार्य र देव श्रेष्ठको अभिनय छ ।
भद्र भुजेल निर्देशित चलचित्र ‘साली कस्को भेनाको’ मञ्चन भइसकेको नाटकमा आधारित रहेको पत्रकार भेटघाटमा खुलाइएको थियो । पत्रकार भेटघाटमा कलाकारहरुले चलचित्र राम्रो बनेको बताउँदै चलचित्र हेर्न आग्रह गरेका थिए । चलचित्र भदौ २९ गतेदेखि देशभरका सिनेमाघरमा आउँदै छ ।






