सिनेमाघरमा चार चलचित्र एकसाथ

काठमाडौं,
आषाढ २९ ।

यो हप्ता सिनेमाघरमा चार चलचित्र एकसाथ आएका छन् । शुक्रबार प्रदर्शन अन्तर्गत आजदेखि देशभरका सिनेमाघरमा चार चलचित्र ‘बाबु कान्छा’, ‘वीराङ्गना’, ‘यो पागल मन’ र ‘बोबी’ प्रदर्शनमा आएका हुन् ।

राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको चलचित्र ‘वीराङ्गना’ लभस्टोरी एक्सन जनरामा निर्माण भएको छ । चलचित्रमा अनसप विक्रम शाही, शिल्पा पोखरेल, पृथ्वीराज प्रसाईँ, प्रज्वल गिरी, शुशिल पोखरेल, ध्रुव कोईराला, प्रिया रिजाल, धिरेन शाक्यलगायतको अभिनय रहेको छ ।

विवाहपछि काँचको पर्दाबाट टाढा रहेकी अभिनेत्री ऋचा सिंह ठकुरी स्टारर चलचित्र हो ‘यो पागल मन’ । यसमा उनको जोडी अभिनेता विनोद न्यौपानेसँग बाँधिएको छ ।

कल्याण अधिकारी निर्देशित यस चलचित्रलाई बिरेन्द्रकुमार यादब र कल्याणले मिलेर निर्माण गरेका हुन् । गौरी मल्ल, राजेश ढुंगाना, मनिष भण्डारीलगायतका कलाकारहरुको पनि यो चलचित्रमा अभिनय छ ।

पछिल्लो रिलिज चलचित्र ‘ए मेरो हजुर २’ बाट थप लोकप्रियताको शिखर चढेका अभिनेता सलोन बस्नेतको लिड अभिनय रहेको छ । उनको अपोजिटमा रियल प्रेमिका करिश्मा श्रेष्ठ छिन् । शोभित बस्नेतको लेखन, निर्माण तथा निर्देशनमा तयार भएको यस चलचित्रमा सञ्चारकर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेका छन् ।

यसमा नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संगौला, ऋतिक शाही, अश्लिन ज्ञवाली, ज्योत्सना महर्जनलगायतको पनि अभिनय रहेको छ ।

यस्तै उमेश थापा र कविता गुरुङको बायोपिक चलचित्र ‘बोबी’ प्रदर्शनमा आएको छ । यी दुईको वास्तविक प्रेमकथालाई निर्देशक मिलन चाम्सले पर्दामा उतारेका छन् ।

चलचित्रमा रियल कपलकै अभिनय छ । गएको बुधवार राजधानीमा गरिएको प्रिमियरमा चलचित्रले सबैबाट राम्रो प्रतिक्रिया पाएको थियो । विजय लामा, रुबी राणा शाह, देशभक्त खनाललगायतका कलाकारहरुको चलचित्रमा अभिनय छ ।

यसमा तपाइको मत

अन्य समाचार