क्यान्सर पीडित पूर्णबहादुरलाई सहयोग हस्तान्तरण

गोरखा,
आषाढ २४ ।

क्यान्सर पीडित पूर्णबहादुरलाई सहयोग हस्तान्तरण गरिएको छ । शहिद लखन गाउँपालिका वडा नं. ८को भेला तथा अन्तरक्रिया कार्यक्रम एवम् क्यान्सर पीडित पूर्ण बहादुर श्रेष्ठलाई सहयोग हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै प्रतिनिधि सभा सदस्य हरि अधिकारीले आफूले पार्टी र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।

क्यान्सर पीडित पूर्ण बहादुर श्रेष्ठलाई प्रमुख अतिथि अधिकारीको हातबाट ६ लाख १७ हजार रकम हस्तान्तरण गरिएको थियो । अधिकारीले शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आफू जनताको अप्ठ्यारो परेको बेलामा सहयोग गर्न सधैं तत्पर रहेको बताए ।

कार्यक्रमलाई स्वागत गर्दै सहयोग अभियानका सहजीकरण गरिरहेका उत्तमकुमार श्रेष्ठले आफू वडा नं. ८ को विकासको लागि जुनसुकै रुपमा तयार रहेको बताए । नमूना वडा बनाउनु पर्छ र आन्तरिक र बाह्य पर्यटकसमेत गाउँमा भित्र्याउन सफल हुनुपर्छ भन्ने सोचका साथ अघि बढेको बताउँदै श्रेष्ठले क्यान्सर पीडित पूर्ण बहादुर श्रेष्ठलाई सहयोग जुटाउन देश विदेशमा रहनुहुने विभिन्न सहयोगी हातहरुप्रति आभार प्रकट गरेका थिए । श्रेष्ठले आफ्नो सहजीकरणमा मकाउमा रहेका अमृत बाबु श्रेष्ठले महत्वपूर्ण काम गरिररहेको बताए । त्यस्तै नेपालबाट राजु श्रेष्ठ, बासु ढकाल र समाजसेवी नवराज अम्गाईंले सहयोगी अभियानमा साथ दिएको उनले बताए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष स्वर्णिम वाग्लेले युवा जुटेर अघि बढे विकास टाढा नरहेको बताएका थिए । त्यस्तै शहिद लखन गाउँपालिका वडा नं. ८का अध्यक्ष काशिनाथ अम्गाईंले वडाको विकासको लागि आफू सदैव तयार रहेको बताए ।

कार्यक्रममा बोल्दै पर्यटन व्यवसायी एवम् समाजसेवी नवराज अम्गाईंले सहिद लखन गाउँपालिका वडा नं. ८ र पूर्ण गाउँपालिकाकै समृद्धिमा नयाँ सोचका साथ एकजुट भएर अगाडि बढ्ने बताए । अम्गाईले वडा नं. ८ बुंकोटलाई नमूना गाउँ बनाउनका लागि सबैले व्यक्तिगत स्वार्थ र पार्टीगत स्वार्थभन्दा माथि रहेर गाउँलाई शीरमा राखेर विकास गर्नुपर्ने तर्क अघि सारे ।

उत्तमकुमार श्रेष्ठको सहजीकरणमा योभन्दा पहिला पनि धेरै विरामी र पीडितलाई सहयोग हस्तान्तरण भइसकेको छ । योभन्दा पहिला १ लाख १७ हजार, ३ लाख २५ हजार, २ लाख ९१ हजार, १२ लाख हुँदै अहिले ६ लाख १७ हजार रकम सहयोग जुटाएर हस्तान्तरण गरिसकिएको छ । विजुलीको पोल ढलेर घाइते भएका बच्चा, विरामी, भूकम्पले घर भत्काउँदा लडेर घाइते हुँदा स्टिल राख्नुपरेको विरामी, मृगौला पीडित हुँदै अहिले क्यान्सर पीडितका लागि यो सहयोग हस्तान्तरण गरिएको सहजकर्ता श्रेष्ठले जानकारी दिए ।

यसमा तपाइको मत

अन्य समाचार