काठमाडौं,
आषाढ १८ ।
देशका विभिन्न स्थानमा रातिदेखि भइरहेको अविरल वर्षाका कारण ठाउँ ठाउँमा पहिरो र डुबान भएको छ । वीरगञ्जको विभिन्न स्थान डुबानमा परेका छन् । वीरगञ्जको श्रीपुर, पानीट्यांकी, जिल्ला प्रशासन कार्यालय पर्सा परिसर, नगवा, रामगढवा लगायतका क्षेत्रहरु डुबानमा परेका हुन् ।
वीरगञ्जको मुख्य बजार आदर्शनगर क्षेत्र, कृष्ण अस्पताल, नारायणी अस्पताल आसपासका क्षेत्रमा समेत पानीको निकास रोकिएका कारण सर्वसाधारणले सास्ती ब्यहोरेका छन् ।
त्यस्तै अबिरल वर्षाको कारण बाँकेको नेपालगञ्ज डुबानमा परेको छ । न्युरोड, सेतु विक चोक, विरेन्द्र चोक लगायतका क्षेत्र जलमग्न छन् ।
नेपालगञ्ज उपमहानगरपालिकाका बेलासपुर, धम्बोझी, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर र बाँके गाउँमासमेत डुबान भएको छ ।
यस्तै अविरल वर्षासँगै पहाडका विभिन्न ठाउँहरुमा पहिरो गएको छ र केही परिवार विस्थापित भएका छन् । आइतबार रातिदेखि परेको वर्षासँगै आएको बाढीका कारण भरतपुर, माडी, ठोरी हुलाकी सडक अवरुद्ध बनेको छ । इलाका प्रहरी कार्यालय माडीले दिएको जानकारी अनुसार खहरे खोलामा आएको बाढीका कारण माडी नगरपालिका–३ र ६ जोड्ने रौतनी खोलाको पुल भाँच्चिदा सवारी आवागमन बन्द भएको हो । पुल भत्किँएसँगै भरतपुर माडी–ठोरी खण्डमा सवारी सञ्चालन हुन सकेका छैनन् । इलाका प्रहरी कार्यालयसँगै रहेको सो पुल बिहान ९ बजे भत्किएको प्रहरीले जनाएको छ । माडी क्षेत्रमा वर्षा नरोकिएका कारण खोलामा पानीको बहाब उच्च भएको छ ।
लगातारको अविरल वर्षाका कारण सिरहाको मिर्चैयामा पानी जमेकाले जनजीवन प्रभावित भएको छ । गत शनिबारदेखिको वर्षाका कारण मिर्चैयाको केन्द्रबिन्दु मानिने थाना चोक, बजार एरिया र कटारी चोकलगायतका स्थानमा पानी जमेकाले आवतजावतमा समस्या भइरहेको छ । नालाको उचित व्यवस्थापनको अभावमा पानीको निकास नहुँदा पूर्व पश्चिम राजमार्गमा समेत पानी जमेकाले सवारीसाधन आगमनमा समस्या भइरहेको हो । मिर्चैयाको थाना चोक एरिया र बजार एरियाको अधिकांश घरमा पानी पसेको छ । वर्षाले मिर्चैयाका सडक तथा बाटो जलमग्न र हिलाम्य भएको छ । नगरभित्र ढल तथा पानी निकासको लागि नालाको उचित व्यवस्थापन नहुँदा सामान्य वर्षा हुँदा पनि पानी सडकमै जम्ने गरेकाले हिलाम्य हुने गरेको छ । अविरल वर्षाका कारण जिल्ला मिर्चैयाको साथै गोलबजार, लहान, सुखीपुर, कल्याणपुर, बस्तीपुर, धनगढीमाई, सिरहा सदरमुकामलगायत ग्रामीण क्षेत्रको सडक हिलाम्य र जलाम्य भएको छ ।
नारायणगढ मुग्लिन सडकखण्डको चारकिलो, जलविरे र टोपेखोलामा पहिरो खसेपछि बिहान ५ः१० बजेदेखि सो सडक एकतर्फी मात्र सञ्चालनमा आएकोमा पुन बिहान ८ बजे ठुलो चट्टान खसेपछि दुई तर्फी नै बन्द भएकोछ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बिहान ती स्थानमा ठुलो पहिरो गएकाले बाटो अवरुद्ध भएको हो । पहिरो पन्छाउन थालिएको भए पनि पानी परिरहेकाले पन्छाउन कठिन भएको नारायणगढ मुग्लिन सडक आयोजनाले जनाएको छ । सरकारले उच्च जोखिममा रहेका भनिएको सडकखण्डमध्ये यो एउटा सडकखण्ड हो । सडक विस्तारका क्रममा रहेकाले यो सडकखण्डको भुई कालोपत्रे भएको भए पनि समय समयमा खस्ने पहिरोका कारण सडक जोखिम पूर्ण रहेको छ ।
यस्तै सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडकखण्डको सिद्धबाबा मन्दिर क्षेत्रमा पहिरो गएपछि बुटवल तानसेन सडकखण्ड अवरुद्ध भएको छ । दुई दिनदेखि परेको वर्षाका कारण आइतबार राति करीब ११ बजे सिद्धार्थ राजमार्गको तिनाउ गाउँपालिका–३ सिद्धबाबा क्षेत्रमा पर्ने हेडबक्स नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । सडकमा लेदो माटो र ढुंगासहितको पहिरो निरन्तर खस्ने क्रम नरोकिएकोले वर्षाका कारण पहिरो हटाउने कार्य अझै शुरु भएको छैन । सामान्य वर्षा हुने बित्तिकै सिद्धार्थ राजमार्गको उक्त क्षेत्रमा पहिरो खस्ने भएकाले यो राजमार्ग निक्कै जोखिमपूर्ण मानिन्छ । यस वर्षमात्र उक्त क्षेत्रमा पहिरोका कारण यसअघि राजमार्ग करीब चार पटक अवरुद्ध भइसकेको छ । पहिरोले सडक अवरुद्ध भएपछि स्याङ्जा, पोखरा, बागलुङ, गुल्मी, अर्घाखाँची तथा जिल्लाकै विभिन्न स्थानबाट बुटवल आवतजावत गर्ने सवारीसाधन बाटोमै रोकिएका छन् ।
मनसुन न्यून चापीय रेखा नेपालतर्फ सरेकाले देशका अधिकांश स्थानमा आगामी तीन दिनसम्म वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले एक विज्ञप्ति जारी गर्दै तीन दिनसम्म हल्कादेखि मध्य र केही स्थानमा भारी वर्षा हुने सम्भावना औँल्याएको हो । मनसुन पूर्ण रुपमा सक्रिय भएकाले अबको केही दिन वर्षा हुने मौसमविद् वरुण पौडेलले जानकारी दिए ।
तीन दिनसम्म लगातार वर्षा भए पनि दिउँसो पख केही बेर वर्षा रोकिने र विशेष गरी साँझ, राति र बिहान वढी वर्षा हुने उहाँको भनाइ छ । पूर्व, मध्य र पश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सजक रहन मौसमविद्ले आग्रह गरेका छन् ।
जल तथा मौसम विज्ञान विभाग, विज्ञान महाशाखा÷बाढी पूर्वानुमान शाखाले पनि आज बाढी बुलेटिन जारी गरी देशका अधिकांश भेगमा वर्षा र पश्चिमी भेगका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
विभागका अनुसार सबै प्रमुख नदीमा जलसतह बढ्दो क्रममा रहेको छ । सोमबार पनि देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम खालको वर्षा तथा पश्चिम, मध्य र पूर्वी भागको मध्यपहाडी क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ ।






