खेमराजको कृति ‘राम शाहको चौतारो’ र ‘सीमानामा आमा’को अन्तरक्रिया

श्रीराम राई, काठमाडौं,
आषाढ ४ ।

लघुकथाकार खेमराज पोखरेलको नवीतम् कृति ‘राम शाहको चौतारो’ र ‘सीमानामा आमा’को अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा लघुकथा समाजका केन्द्रीय अध्यक्ष तथा ‘मधुपर्क’ सम्पादक श्रीओम श्रेष्ठ रोदनले विधागत मान्यता पाइसकेका लघुकथाको उन्नयनमा खेमराज पोखरेलको उपस्थिति प्रशंसनीय भएको र लामो खोज अनुसन्धान र प्रयोगबाट लघुकथाको मानक स्थिति पहिचान भएकाले यसैमा केन्द्रित हुनु पर्ने कुरामा जोड दिनुपर्ने बताए ।

‘मधुपर्क’का नायब कार्यकारी सम्पादक तुलसीहरि कोइरालाले गोरखापत्र संस्थानले आयोजना गरेको राष्टव्यापी लघुकथा प्रतियोगितामा पुरस्कृत भएको लघुकथा ‘सीमानामा आमा’बाटै सङ्ग्रहको नाम रहेकोले आफ्नो अभियानमा यो खुसीको खबर भएको बताउनुभयो । उहाँले लघुकथाको विधागत उन्नयनमा ‘मधुपर्क’ र ‘समकालीन साहित्य’ जस्तो विभिन्न पत्रिकाको महत्त्वपूर्ण योगदान रहेको बताउउँदै लघुकथाकार पोखरेललाई बधाई ज्ञापन गर्नुभएको थियो ।

प्राज्ञ मातृका पोखरेलले नेपाल प्रज्ञा प्रतिष्ठानबाट भर्खरै प्रकाशित ‘समकालीन साहित्य’ लघुकथा विशेषांकमा प्रोत्साहनस्वरूप नयाँ अनुहारलाई पनि ठाउँ दिएको बताउनुभयो । उहाँले सम्पादनको निश्चित मापदण्ड भए पनि विधागत उन्नयनमा सम्पादक अलिक उद्दार हुनु पर्ने कुरामा जोड दिनु भएको थियो ।

साहित्यकार इन्द्रकुमार श्रेष्ठ ‘सरित’ले सम्पादनमा गणितीय शूत्र लागू गर्नु हुँदैन । हामीले आफ्नो धरातल नबिर्सी निष्पक्ष ढङ्गले सहकार्य गर्दै अगाडि बढ्नु पर्ने बताउनुभयो । उहाँले समकालीन साहित्य लघुकथा विशेषाङ्कमाथि भइरहेको केही प्रतिक्रिया न्यायिक नभएको र साहित्य जस्तो विशुद्ध यात्रामा लागेकाहरूले विवेकपूर्ण ढङ्गले टिकाटिपणणी गर्न आग्रह गर्नुभएको थियो ।

लघुकथामा छुट्टै पहिचान बनाएका सुमन सौरभले लघुकथाको शब्द सीमाबारे अझै विवाद गरिरहन आवश्यक छैन । अढाई सयमा राम्रोसँग लघुकथा लेख्न सकिन्छ । नराख्दा नहुने अनावश्यक शब्द राखेर लघुकथालाई भद्दा बनाइनु हुँदैन भन्दै पोखरेलका प्रायः सबै लघुकथा लघुकथा भएकोमा बधाई ज्ञापन गर्नुभएको थियोे ।

लघुकथाकार रामकुमार पण्डित क्षेत्रीले लघुकथामा उकाल, चरम र ओराल यी तीन तत्व अनिवार्य रूपमा हुनु पर्ने बताउनुभयो । उहाँले लघुकथाका पिता खलिल जिब्रानको कथामा यी तीनै तत्व भएकाले प्रभावकारी भएको र प्रा. मोहनराज शर्माले पनि यिनै कुरालाई महत्त्व दिनुभएको छ । लघुकथा एउटा घटनाबाट सुरु अर्को घटनामा अन्त्य भएमा त्यो लघुकथा चोटिलो हुने कुरा पनि उहाँले बताउनुभयो ।

‘गोरखापत्र’ले आयोजना गरेको राष्ट्रव्यापी लघुकथामा प्रथम हुनुभएको लघुकथा दिव्य गिरीले लघुकथा उन्नयनमा लघुकथाकार खेमराज पोखरेलले अभिभावकीय भूमिका निर्वाह गर्दै आएको र यति चाँडै चार लघुकथा सङ्ग्रह र एक लघुकथा सङ्ग्रहको सफल सम्पादन गर्नुमा पोखरेलको अदम्य साहस र साधनाको प्रतिफल भन्नुभएको थियो ।

कार्यक्रममा संसाक मासिकका प्रकाशक/प्रबन्ध सम्पादक उमेश पाण्डे, कान्तिपुर दैनिकका पत्रकार दामोदर न्यौपाने, साहित्यकार कुल ढकाल , बी.एन. प्रकाशनका कार्यकारी निर्देशक सूर्य विसी, समाजसेवी भोगिन्द्र राई र मिसन अधिकारीले पनि लघुकथाकार पोखरेललाई बधाई दिनुभएको थियो ।

कार्यक्रममा साहित्यकार पोखरेलको जीवनी र कृतित्वबारे अनुसन्धान गर्दै गर्नु हुने विद्यार्थी सुनिता खड्काको पनि उपस्थित रहेको थियोे ।

सभाअध्यक्ष र प्रमुखअतिथि नराखिएको उक्त कार्यक्रम लघुकथकार श्रीराम राईको संयोजन तथा सञ्चालनमा सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार