भानुजयन्तीका अवसरमा हिमवत्खण्ड कला साहित्य सम्मिलन’ हुने

काठमाडौं,
आषाढ ३ ।

दुई सय पाँचौँ भानुजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानको आयोजनामा ‘हिमवत्खण्ड कला साहित्य सम्मिलन’ हुने भएको छ ।

यही असार २९, ३० र ३१ गते हुने पहिलो सम्मिलनमा २२औँ शताब्दीमा नेपाली भाषाको अवस्था, यसकोे महत्व र आजको साहित्यको स्तर कस्तो हुने भन्नेबारे कार्यपत्रसहित छलफल हुने छ । सम्मिलनमा बहुभाषिक कविगोष्ठी र सांस्कृति कार्यक्रम पनि हुने छ । तीन दिने कार्यक्रमअन्तर्गत असार ३० गते चन्द्रागिरिमा साहित्य र कलासम्बन्धी कार्यशाला पनि हुनेछ ।

प्रा. डा. राजेन्द्र सुवेदीको संयोजकत्वमा मूल समारोह समिति रहने समारोहमा नेपालका सबै प्रदेश, भारत, म्यान्मा, भुटान तथा युरोप र अमेरिकाका नेपाली एवम् नेपाली मातृभाषी विद्वान्, भाषाविद्, प्राध्यापक, साहित्यकार, कलाकार, राजनीतिकर्मी आदिको सहभागिता रहनेछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा गत मङ्गलबार बिहान भएको भेटघाटमा प्रधानमन्त्री तथा प्रतिष्ठानका संरक्षक केपी शर्मा ओलीले प्रतिष्ठानका सल्लाहकार तथा पदाधिकारीलाई नेपालका सबै भाषाभाषी र सबै विधा समेट्न निर्देशन दिनुभयो । उहाँले सबै भाषाभाषी र स्रष्टालाई राष्ट्रको समृद्धि, विकास र सुशासनका लागि भाषा, चलचित्र, कला र संस्कृतिका माध्यमबाट आआफ्ना ठाउँबाट भूमिका खेल्नु आग्रह पनि गर्नुभयो । प्रधानमन्त्रीले नेपाली राष्ट्रियता र संस्कृतिको प्रवद्र्धन र जागरणमा भूमिका खेल्ने लेखनाथ पौडेल, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, धरणीधर कोइराला, गोपालप्रसाद रिमाल, गोकुल जोशी, पारिजात आदिका स्मृतिमा नेपाली, साहित्य, कला, पत्रकारिता आदि विषयमा नियमित रूपमा छलफल, बहस तथा भेटघाट भइरहनुपर्ने विचार पनि व्यक्त गर्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष डा. विजय सुब्बा, महासचिव डा. देवी नेपाल र प्रा बद्रीविशाल पोखरेलले प्रतिष्ठानले ‘समृद्धिका लागि साहित्य’ अवधारणा लिएर विभिन्न कार्यक्रम गरेको र आगामी दिनमा नियमित रूपमा गरिरहने जानकारी प्रधानमन्त्रीलाई दिनुभयो । सो अवसरमा प्रतिष्ठानका उपाध्यक्ष प्रा. डा. कृष्णप्रसाद घिमिरे तथा सल्लाहकार प्रा. डा. जीवेन्द्रदेव गिरी, प्रा. डा. भिक्टर प्रधान, शान्ता मानवी, दयालबहादुर शाही आदिको सहभागिता थियो ।

दुई सय पाँचौँ भानुजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानको आयोजनामा प्रा. डा. राजेन्द्र सुवेदीका संयोजकत्वमा २०५ सदस्यीय मूल समिति गठन पनि गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार