देविका तिमिल्सिनाको ‘पृथ्वी आफ्नै अक्षमा घुमिरहेछ माथि परिचर्चा

काठमाडौं,
ज्येष्ठ २० ।

कथाकार देविका तिमिल्सिनाको कथाकारिता र उनको नविनतम कृति ’पृथ्वी आफ्नै अक्षमा घुमिरहेछ’ माथि परिचर्चा कार्यक्रम भएको छ । नेपाल वाङ्मय परिषदको आयोजनामा शनिवार राजधानीमा परिचर्चा भएको हो ।

नेपाल वाङ्मय परिषदका अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षता एवम् प्रगतिशिल लेखक संघका अध्यक्ष, प्राज्ञ मातृका पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा साहित्यकार दिपसागर पन्तको उदघोषण र कविराज भट्ट बिलौनाले स्वागत भाषण गरेका थिए ।

कथाकार देविका तिमिल्सिनाको कथाकृति ‘पृथ्वी आफ्नै अक्षमा घुमिरहेको छ’ माथि आर.एम. डंगोल एवम् डा. शान्तिमाया गिरीले आफ्ना अभिमत राखे भने पुरुषोतम सुवेदीले कथाकार तिमिल्सिनाको व्यक्तित्व एवम् उनको कथायात्राका बारेमा चर्चा गरेका थिए । समारोहमा आख्यानकारहरू नारायण ढकाल, इस्माली, गोपाल अश्क, पवन आलोकले लेखकलाई शुभकामना दिनुका साथै समकालीन नेपाली कथा लेखनका प्रवृत्तिका बारेमा चर्चा गरे ।

समारोहमा चेतनाथ कँडेल, विधान आचार्य, गोकुल अधिकारी, बुद राना, सुनिल पुरी, राम विनय, देवा अधिकारी, भुवन बोहरा, डम्बर शर्मा बडु, शार्दुल भट्टराई, कृष्णप्रसाद सुवेदी, डा. हेमनाथ पौडेल, उर्मिला पन्त पाण्डेयलगायत चार दर्जन भन्दा बढी स्रष्टाको उपस्थिति थियो ।

कृतिमाथि समीक्षाका क्रममा समालोचक डा. शान्तिमाया गिरीले तिमिल्सिनाका कथामा निम्नवर्गीय पात्रको जीवनका साथै अभिघातको प्रयोग भएको विचार व्यक्त गरिन । उनले अभिघातका सिद्धान्तअनुसार यस कृतिमा हिंसात्मक गतिविधिको समर्थन भएको एवम् फरक विचारप्रति असहिष्णु भएकोतर्फ सङ्केत गरिन ।

अर्का समीक्षक आर.एम. डंगोलले यो कृति नेपालको राजनीतिक आन्दोलनमा पञ्चायतकालदेखि वर्तमानसम्मको समय आएको र वर्गीय पक्षधरता सहित आएकोले प्रगतिशिल धारको प्रतिनिधित्व गरेको विचार राखे । डंगोलले तिमिल्सिनाका कतिपय कथामा आलोचनात्मक यथार्थवाद समेत आएको विचार व्यक्त गरे ।

समीक्षक पुरुषोतम सुवेदीले तिमिल्सिना नेपालको वाम आन्दोलनमा सशरिर सङ्घर्षको मैदानका साथै लेखनमा पनि सशक्त रुपमा आएको कुरा राखे । सुवेदीले तिमिल्सिनाका कथामा विचारको पक्ष सशक्त रुपमा आएको र उनी जनपक्षधर स्रष्टा भएको विचार व्यक्त गरे ।

यसमा तपाइको मत

अन्य समाचार